विपद् व्यवस्थापन तालिम सम्पन्न

-


     मर्दी न्युज    
     मंसिर १८ गते २०७६ मा प्रकाशित


Mardi

१८ मंसिर, पोखरा । नेपाल पर्वतारोहण संघ, अन्नपूर्ण शाखा पोखराको आयोजना तथा ‘तुल्यान युनिभर्सिटी स्कुल अफ मेडिसिन’ अमेरिकाको प्राविधिक सहयोग तथा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराको आर्थिक सहयोगमा दुई दिने ‘विपदको बेला पहिलो व्यक्तिको सुरक्षा’ विषयक तालिम सम्पन्न भयो ।

Mardi

नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न तालिम मंसिर १७ र १८ गरी दुई दिनसम्म सञ्चालन भएको थियो । तालिममा ट्रेकिङ तथा माउन्टेन गाइडहरु, सशस्त्र प्रहरी बल, पर्यटन प्रहरी, डुङ्गा चालकलगायत विभिन्न क्षेत्रका गरी ७७ जना प्रशिक्षार्थीहरुको सहभागिता थियो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले प्रमुख आतिथिको मन्तव्य राख्नुहुँदै नेपाल पर्वतारोहण संघको गतिविधिले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गर्नुभयो । उहाँले कार्यक्रमको सराहाना गर्दै आगामी दिनमा पनि नेपाल पर्वतारोहण संघसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता गर्नुभयो ।

फोटोः गंगा घले

संघका अध्यक्ष कृष्णप्रसाद काप्mलेको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल, नेपाल पर्वतारोहण संघका सल्लाहकार डम्बरबहादुर केसी, नेपाल भ्रमण वर्ष २०२० का गण्डकी प्रदेश सहसंयोजक अग्नी कँडेललगायतले बोल्नु भएको थियो ।

कार्यक्रममा Dr. Bernard M. Jaffe, Dr. Laura Joan Huber, Dr. Angela Susanne Volk, Dr. Mary Kala Zorn ले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन नेपाल पर्वतारोहण संघ अन्नपूर्ण शाखाका सचिव शेषकान्त शर्माले गर्नुभएको थियो भने ल्यापटप हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन भएको थियो ।

समापन कार्यक्रममा सम्पूर्ण प्रशिक्षकहरूलाई ढाका टोपी, दोसल्ला ओढाउनुका साथै बुद्धका मुर्ति मायाको चिनो स्वरुप दिइएको थियो ।