ग्लोबल आइएमई र जनता बैंकको एकीकृत कारोबार सुरु

-


     मर्दी न्युज    
     मंसिर २१ गते २०७६ मा प्रकाशित


Bank

काठमाडौं – ग्लोबल आइएमई र जनता बैंकले शुक्रवारबाट एकीकृत कारोबार सुरु गरेका छन् । दुवै ‘क’ वर्गका वाणिज्य बैंक मर्ज भएसँगै ग्लोबल आइएमई बैंक मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ । यसको निक्षेप दुई खर्ब १३ अर्ब रुपैयाँभन्दा धेरै र पुँजी २४ अर्ब रुपैयाँ पुगेको छ । दुवै वाणिज्य बैंक मर्ज भएसँगै ग्लोबल आईएमई बैंकको नामबाट कारोबार सुरु भएको हो ।

जनतासँग शुक्रबारदेखि एकीकृत कारोबार सुरु गरेपछि ग्लोबल आइएमई बैंक पुँजी, निक्षेप, कर्जा परिचालन, शाखा र ग्राहकका हिसाबले सबैभन्दा ठूलो बैंक भएको हो । चालु आव ०७६ र ७७ को बजेटबाट सरकारले वाणिज्य बैंकलाई मर्जरमा जान प्रोत्साहित गरेपछि यी दुई वाणिज्य बैंक मर्ज भएका हुन् । ग्लोबलले अहिलेसम्म तीनवटा वाणिज्य बैंक, १० वटा विकास बैंक र पाँचवटा फाइनान्स कम्पनी मर्ज तथा प्राप्ति गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले शुक्रबार कमलादीस्थित ग्लोबल आइएमइको कर्पोरेट कार्यालयबाट एकिकृत कारोबार समुद्घाटन गरे । उदघाटन मन्तव्य व्यक्त गर्दै अर्थमन्त्री खतिवडाले यो मर्जरले अरु ठूला बैंकलाई मर्ज गर्न मद्दत गर्ने बताए । खतिवडाले स्वस्फुर्त रुपमा अन्य बैंकहरुलाई मर्ज हुन अनुरोध गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक गर्भनर चिरञ्जीवि नेपाल, ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, जनता बैंकका अध्यक्ष केशवबहादुर रायमाझी, उद्योग वाणिज्य महासंका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छालगायतले मन्तव्य राखेका थिए ।