पोखरा राष्ट्रिय औद्योगिक व्यापार मेला शुरु

-


     मर्दी न्युज    
     पुस १८ गते २०७६ मा प्रकाशित


Mardi News

पोखरा, १८ पुस । पोखरा राष्ट्रिय औद्योगिक व्यापार मेला शुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा भएको औद्योगिक मेलाको उद्घाटन झरीका कारण पोखरा उद्योग वाणिज्य संघको हलमा भएको हो ।
झरीका बिच ‘समृद्धी स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेला २०७६’ को गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले उद्घाटन गरे ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मेलाको उद्घाटन गर्ने तयारी भएपनि लमजुङमा रहेका मुख्यमन्त्री गुरुङ वर्षाका कारण पोखरा आउन ढिलाई भएपछि अन्तिम समयमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले मेलाको उद्घाटन गरेका हुन् ।
मेलाको उद्घाटन कार्यक्रम मेला स्थल पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमै गर्ने तयारी भएपनि अन्तिम समयमा आएर झरीका कारण स्थगित गर्दै पोखरा उद्योग वाणिज्य संघको सभाहलमा गरिएको थियो ।

मेलाको औपचारिक उद्घाटन अघि सचिवालयबाट प्रभातफेरी निकाल्ने कार्यक्रम रहेपनि अन्तिम समयमा स्थगित गरिएको थियो ।

उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराउने तथा उद्यमशीलता सिकाउने उद्देश्यले मेला आयोजना गरेको आयोजक पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले बताए । उनले मेलामार्फत नेपाल भ्रमण वर्ष २०२० लाई सघाउनेपनि आफूहरुको उद्देश्य रहेको स्पष्ट पारे ।

मेलामा उद्योग, हस्तकला, बैंक तथा वित्तिय संस्था, फ्लोरिकल्चर, अटो, बाल उद्यान, रेष्टुरेण्टलगायतका छुट्टाछुट्टै पेभेलियन रहेका छन् । मेलामा कुल २७० वटा स्टल रहेको संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए । स्टलमार्फत अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, विभिन्न सरकारी तथा गैह्र सरकारी संघ संस्थाहरुको गतिविधिहरुको प्रदर्शनी गरिने उनले बताए ।