
पोखरा । नेपालको महत्वपूर्ण पदमार्गमा पर्ने अन्नपूर्ण पदमार्गमा रहेको मनाङ तथा मुस्ताङमा वर्षा सकिएर हिउँदको सुरूवातसँगै स्वदेशी तथा विदेशी पर्यटक भित्रन थाल्छन् ।

हिमाल पारीको जिल्ला मनाङ तथा मुस्ताङ पदयात्रा गर्ने सिजनमा विदेशी मुलुकजस्तै देखिन थाल्छ । लमजुङको बेँशीसहर हुँदै मनाङ भित्रने पर्यटक बाटोभरि पैदलयात्रा गरिरहेको देख्न सकिन्छ । मनाङ जिल्लाको ताल – धारापानी– चामे हुँदै आउने पर्यटक माथिल्लो मनाङको पिसाङ, घ्यारु, ङावोल र मनाङगाउँमा बास बस्ने गर्दछन् ।
त्यसैगरी पोखराबाट पर्वत, म्याग्दी, हुँदै मुस्ताङ भित्रने पर्यटक प्रशस्तै देख्न सकिन्छ । ३ साता लामो पदमार्ग ७ देखि १० दिनमा छोटिएको छ । हाल हाएर सिधै मुस्ताङ मोटरमार्गबाटै पुग्न सकिन्छ । त्यसैगरी मनाङको सदरमुकाम चामेसम्म पनि मोटरबाटोले जोडेको छ ।

यहाँ मनाङबाट मुस्ताङ पुग्ने पदमार्गको तस्विर प्रस्तुत गरिएको छ । मनाङमा पर्यटन व्यवसायीले पर्यटकलाई कुनै पनि असुविधा नहोस् भनी सुविधासम्पन्न होटल निर्माण गरेका छन् जहाँ खानबस्नको राम्रो सुविधाका साथै पिउने पानी, चर्पी र बाथरुम व्यवस्थित छ । २४ सैँ घण्टा तातो र चिसो पानीको व्यवस्थाका साथै हाइअल्टीच्यूड (लेक लाग्ने)का लागि प्राथमिक उपचारका सामान प्रत्येक होटलमा राखिएको छ ।

यहाँ आउने पर्यटक विशेष गरेर थोराङ पास, लार्के पास, र कांला पासका साथ साथै विश्वकै अग्लो स्थानमा रहेको तिलीचो तालको अवलोकनका लागि आउने गरेका छन् ।

त्यस्तै, यस क्षेत्रमा पर्ने अग्लाअग्ला हिमश्रृङ्खला अन्नपूर्ण दोस्रो, तेस्रो र चौथोलगायत जूलू पीक, पिसाङ पिक, निलगिरि र तिलिचो पिकजस्ता हिमाललाई नजिकैबाट अवलोकन गर्न पर्यटक आउने गरेको पर्यटन व्यवसायीहरुले बताउँछन् ।

बाह्य पर्यटकसँगै आन्तरिक पर्यटकलाई जोड दिने उद्देश्यले यहाँको कला संस्कृति, रीतिरिवाज, वेशभूषालाई प्रदर्शनी कक्ष बनाई प्रदर्शन गरिएको पनि छ ।
