पोखरा, ९ माघ । गण्डकी प्रदेशको राजधानी पोखरा सबै जिल्लालाई यातायातले जोडेको केन्द्र भएपनि बागलुङलाई नबिर्सन बागलुङबासीलाई संघीय सांसद देवेन्द्र पौडेलले आग्रह गरे ।
विहीवार पोखरामा बागलुङ पर्यटन विकास समिति, बागलुङ उद्योग वाणिज्य संघ र बागलुङ होटल तथा रेष्टुरेण्ट व्यवसायी संघद्वारा आयोजित सरोकारवालासँग सहकार्यसम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो कुरा बताएका हुन् । उनले भने— ‘२५ वर्ष अगाडि यो पोखराको लेकसाइड एउटा खेतीयोग्य जमिन मात्र थियो तर आज रमझम, रमणीयता र सौन्दर्यता प्रकट भएको छ ।’ उनले अगाडि भने— ‘बागलुङको अर्कै अवस्था छ, त्यहाँको कालिका मन्दिरको ऐतिहासिक, पौराणीकता र सुन्दरता अति राम्रो छ, त्यसको प्रबर्धन गर्न जरुरी छ ।’
कार्यक्रममा टान पोखराका अध्यक्ष हरि भुजेल, नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पोखरेल, पर्यटनविद् बासु त्रिपाठी, नेपाल भ्रमण वर्ष २०२० का गण्डकी प्रदेशका सह संयोजक अग्निप्रसाद कँडेललगायतले विभिन्न सुझाव दिनुका साथै प्याकेज बनाउने तरिका, हस्पिटालिटी व्यवस्थापन लगायतमा अनुभव आदानप्रदान गरेका थिए ।
कार्यक्रममा सहजीकरण बागलुङ समाज पोखराका अध्यक्ष कुलचन्द्र शर्माले सहजीकरण गरेका थिए । पोखरा पर्यटन परिषद्मा आबद्ध संघसंस्थाको अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थितिमा रहेको कार्यक्रममा पोखराका व्यवसायीहरुले बागलुङका पर्यटकीय स्थलबारेमा अभिरुचि राख्नुका साथै बागलुङको पर्यटन प्रवद्र्धधन गर्न सक्दो पहल गर्ने वचनबद्दता व्यक्त गरे ।