
फोटोः राजु आचार्य
स्याङ्जा, १५ माघ । स्याङ्जा जिल्लाको राङभाङ–भैसेगौंडमा हुन लागेको नवौं ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव’ को लागी स्थानीयहरुले तयारी तीब्र पारेका छन् । मानिसहरुमा यो नौलो उत्सवबारे कौतुहलता बढ्दै गएको छ ।

पाहुना व्यवस्थापनका लागि अस्थायी घरबासका निम्ति तथ्याँक निकाल्ने काम सकिएको छ । व्यक्तिगत र सामुहिक रुपमा एक रातमा कम्तिमा ५०० जनासम्मलाई बस्ने र खानको व्यवस्ता गर्ने गरि तयारी सकिएको छ । पाहुनाहरुको घुमाई र बसाईलाई अविस्मरणीय बनाउन अरनिको माविको चौरमा परम्परागत घुमाउने घर र रोटेपिङ्ग निर्माण अन्तिम चरणमा पुगेको उत्सव आयोजक मुल समितिका संयोजक बालकुमार गुरुङले बताए । महिला समूहले सरसफाई गर्न थालेका छन् । चरा अवलोकनको लागि बाटाहरु तय भैसकेको छ । दिनहुँ कट्टुवाल घोकेर गाउँलेहरु काममा लागेका छन् । सो उत्सको लागि अस्ट्रियाबाट एक जना विदेशी इनग्रिड बारबरा कोलको पनि आगमन भै सकेको उनले बताए ।

बिरुवा गाउँपालिका र पुतलीबजार नगरपालिकाका विभिन्न विद्यालयमा संरक्षण चेतना शिविर सञ्चालन भइरहेको छ । हालसम्म २२ विद्यालयका १ हजार १ सय ७४ विद्यार्थी र शिक्षकलाई लाटोकोसेरोबारे जानकारी गराउने काम भैसकेको प्रकृतिका साथीहरु संस्थाका निर्देशक राजु आचार्यले बताए । विद्यालयलाई सहज होस् भनेर शुक्रवार र शनिवार कार्यक्रम तय गरिएको पनि उनले बताए ।

सबै विद्यालयले लघु भ्रमणको रुपमा सहभागी हुने जनाएका छन् । अस्थाई रुपमा स्थापना हुने संग्रहालयको कारणले विद्यार्थी सो कार्यक्रम हेर्ने आतुर भएका हुन् ।

यहि माघ २४ र २५ मा हुने सो उत्सवमा स्थानीय संस्कृति, खेल र संरक्षणका विभिन्न कार्यक्रमहरु तय भएका छन् । सो अवसरमा हुने स्वास्थ शिविरले पनि रौनक थपेको छ । सो क्षेत्रमा जानको लागि स्याङजाको घुम्तिबाट १० किलोमीटर कच्ची बाटो हुँदै जान सकिन्छ ।
