
हाल नेपालमा पश्चिमी र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।
शनिबार बिहान कोशी प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। गएको चौबीस घन्टामा सातै प्रदेशमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सबैभन्दा बढी सप्तरीको रूपानी बजारमा ११५ मिलिमिटर वर्षा भएको छ।
सिन्धुलीको रानीचुरीमा ८८.८ मिलिमिटर वर्षा मापन भएको छ। कोशी प्रदेशका विभिन्न भूभागमा गएको चौबीस घन्टामा मध्यमदेखि भारी वर्षा भएका छन्। अन्यत्र हल्कादेखि मध्यम वर्षा भएका छन्।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो मधेस प्रदेशलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागको थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्ने तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भू-भागमा साधरणतया बादल लाग्ने र तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी भू-भागको एक-दुई स्थानमा मेघगर्जन तथा चट्याङ, हावाहुरी, असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

