
वासुदेव पौडेल
पोखरा । विद्यालयका विद्यार्थी लाटोकोसेरोका कथा सुन्दै, बुझ्दै र लेख्दै छन् भन्दा अनौठो लाग्न सक्छ । सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) अन्तर्गत स्याङ्जाको राङ्भाङ र आसपासका विद्यार्थी यतिखेर लाटोकोसेरोका विविध पक्ष सुनेका मात्रै छैनन्, ती विषयलाई बुझेर कथा, निबन्ध आदिमा उतारेका पनि छन् ।
लाटोकोसेरोको संरक्षणमा क्रियाशील संस्था प्रकृतिका साथीसहित मिलेनियम ट्रेक व्यवस्थापन समिति र राङ्भाङ युवा क्लबको सक्रियतामा यही माघ २४ र २५ गते स्याङ्जाको राङभाङ–भैंसेगौंडामा गर्न लागिएको ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७६’ का अवसरमा यो चराका कथा व्यथा सुनाइएको हो । शिविरमा सुनेका विषयलाई आफ्ना रचनामा उतार्दै कथा, कविता, निबन्ध एवम् चित्रकला प्रतियोगितामा आफूलाई विजयी बनाउन यतिखेर विद्यार्थीलाई भ्याइनभ्याइ छ ।

किसानको साथी भनेर चिनिने लाटाकोसेरो संरक्षणको अभावमा हराउँदै गएको वास्तविकतामा त्यसबारे जनचेतता जगाउने उद्देश्यका साथ उत्सवका साथै यसै अवसरमा प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्न लागिएको हो । प्रकृतिका साथीहरूका निर्देशक राजु आचार्यका अनुसार स्याङ्जाको पुतलीबजार नगरपालिका र विरुवा गाउँपालिकाका विभिन्न वडामा सञ्चालित विद्यालयमा लाटोकोसेरो संरक्षण शिविर सञ्चालन गर्दै यसले पर्यावरणमा पारेको प्रभावलगायतका विषयमा जानकारी गराइएको छ ।
लोपोन्मुख प्रजातिमा पर्ने यो चराका विश्वमा २२५ प्रजाति रहेका छन् भने नेपालमा २३ प्रजाति पाइन्छ । वर्षेनी बढ्दै गएको वन विनासका साथै वातावरण प्रदूषण र चोरी निकासीका कारण यो चरा सङ्कटमा पर्दै गएको छ । नेपालमा सन् २००८ बाट संस्थागतरूपमा नै संरक्षणका लागि पहल भइरहेको जानकारी दिँदै आचार्यले यो चराको संरक्षणका लागि नेपाल सरकारसमेतले कार्ययोजना तयार गर्न लागेको बताए ।
लोपोन्मुख प्रजातिको यस चराको संरक्षणका लागि जनचेतना अभिवृद्धि अपरिहार्य भएको कुरालाई दृष्टिगत गर्दै विगत नौ वर्षयता देशा विभिन्न स्थानमा वर्षेनी लाटोकोसेरोे उत्सव सञ्चालन गर्दै आइएको उहाँले जानकारी दिए ।
लाटाकोसेरोको संरक्षणमा विद्यार्थीको विशेष भूमिका हुने अवस्थालाई दृष्टिगत गर्दै यस क्षेत्रका एक हजार ४१० जना विद्यार्थीलाई यसको संरक्षण एवम् पर्यावरण लगायतका विषयमा प्रशिक्षण दिइएको उनले जानकारी दिए । “समाजमा विद्यार्थीका माध्यमबाट उनीहरूका अभिभावकसमेतसँग यसको संरक्षणको आवश्यकताबारे जानकारी होस् भन्ने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको हो,” उनले भने । लाटोकोसेरोले विशेषतः खेतबारीमा रहेका मुसा खाने गर्दछ । एक जोडी लाटोकोसेरोले फुल पारेर बच्चा कोरल्दासम्म तीन हजार वटासम्म मुसा खाने अध्ययनले देखाएको छ । आचार्यका अनुसार कृषकलाई मुसाबाट बाली जोगाउन विशेष सहयोग गर्ने भएकाले यसलाई किसानको साथीका रूपमा लिने गरिएको हो ।
पछिल्ला वर्षमा नेपाल आउनेमध्ये लगभग आठ प्रतिशत विदेशी पर्यटक लाटोकोसेरोेसहितका चरा हेर्न आउने भएकाले यिनीहरूको संरक्षण चरा पर्यटनका लागि पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । उत्सवले मध्यपहाडी क्षेत्रको तनहँुको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किमि दुरीको मिलेनियम ट्रेकमा विद्यमान चरा पर्यटनको सम्भावनालाई उजागर गर्ने विश्वास लिइएको मिलेनियम ट्रेक व्यवस्थापन समितिका महासचिव हर्क गुरुङले जानकारी दिए । यस पदमार्ग क्षेत्रमा पाँच प्रजातिका लाटाकोसेरो पाइने जानकारी दिँदै उनले यहाँ नेपालमा मात्रै पाइने चरा काँडेभ्याकुर पनि ठाउँ ठाउँमा देख्न सकिने बताए । “उत्सवको पूर्वसन्ध्यामा यस क्षेत्रका ३५ वटा विद्यालयमा लाटोकोसेरो संरक्षण शिविर सञ्चालन गरी विद्यार्थीलाई लाटोकोसेरोको कथा, व्यथा सुनाइएको छ,”