काठमाडौं, २७ माघ । कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएसँगै आगामी शुक्रबार नेपाल एयरलाइन्सको वाइडबडी विमान चीन जाने पर्यटन मन्त्रालय स्रोतले जनाएको छ ।
कोरोना भाइरसको उद्गम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने छ । वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपालीहरु छन् । उनीहरुले आफूहरुको छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् । उनीहरुका अभिभावकहरुले आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन माग गर्दै गृह मन्त्रालय, पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, मानव अधिकार आयोग लगायतको ध्यानाकर्षणसमेत गराएका थिए ।
चीनबाट नेपाली विद्यार्थीहरुलाई ल्याउनको लागि परराष्ट्र, पर्यटन, स्वास्थ्य मन्त्रालयसमेतका अधिकारीहरुसमेत रहने गरी समिति गठन गरिएको छ । समितिमा नेपाल एयरलाइन्सका प्रतिनिधि सदस्य रहने संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सूचना अधिकारी सुरेश आचार्यले जानकारी दिए । यद्यपी प्रधानमन्त्री कार्यालयबाट आएको निर्देशन अनुसार नै समय अझै अगाडी समेत हुनसक्ने आचार्यले बताए ।