पोखरा, १ फागुन । शनिबार पोखरामा हुने १४ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा एक सयभन्दा बढी धावकहरु सहभागी हुने भएका छन् ।
म्याराथनको तयारी पूरा भएको जानकारी गराउदै मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले भोलि (शुक्रबार)सम्म अन्तिम नाम दर्ता गर्ने समय रहेको जनाए । म्याराथनमा विदेशीहरु पनि सहभागि हुने अध्यक्ष गुरुङले बताए । उनका अनुसार म्याराथन (४२ किलोमिटर दौड) सहित महिला र पुरुष दुबैतर्फका लागि १० किलोमिटर सडक दौड, ५ किलोमिटर छात्र र छात्रा दौड, दृष्टीबिहीन पुरुष र महिला, ह्विल चियर, रन फर फनमा गरी करिब ७ हजार जना दौडने छन् ।
म्याराथनमा सहभागी हुन विभागीयसहित देशका विभिन्न ठाउँबाट हालसम्म एक सय भन्दा बढी धावकहरुले नाम दर्ता गराएको आयोजक भूतपुर्व खेलाडी मञ्च नेपालले बिहीबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।
पोखरासंग भगिनी सम्बन्ध रहेको जापानको कोमागाने शहरको उत्कृष्ट धावक पनि सहभागि हुन पोखरा आइसकेको अध्यक्ष गुरुङले बताए । पोखरा म्याराथनलाई विश्व शान्तिको कामना गर्दै पिस टर्चसहित दौडिन विभिन्न १३ देशका २१ जना विदेशी धावकहरु पोखरा आइसकेको गुरुङले जानकारी दिए । टोलीको नेतृत्व युनेस्कोका पूर्व अध्यक्ष डेभिडसन हेप्वर्नले गर्ने भएका छन् ।
पोखरा म्याराथनका लागि पोखरेली मञ्च यूकेका अध्यक्ष मानप्रसाद गुरुङ र पोखरा म्याराथन युकेका संयोजक मञ्जु गुरुङ पोखरा आइसकेका छन् । भलिबलकी पूर्व राष्ट्रिय खेलाडी मञ्जु गुरुङ र धावक पाण्डव महतो पनि म्याराथनमा दौडदैछन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रमुख संरक्षक र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जि.सी संरक्षक रहेको म्याराथनबाट पोखरालाई पनि खेलकुदको विश्व मानचित्रमा स्थापित गराइ खेलकुद पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । विश्वमा विभिन्न मुलुकमा सिटी म्यराथानको अवधारणको विकास भइरहेको छ । प्रतिष्ठित औधोगिक प्रतिष्ठान लक्ष्मी गु्रप अन्तर्गत सुजल डेरीको उत्पादन सफल दुधले मुख्य प्रायोजन गर्ने म्याराथनको सुरुवात पोखरा रंगशालाबाट हुनेछ ।
३५ लाख रुपैयाँ भन्दा बढी खर्च हुने अनुमान गरिएको म्यराथनका विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिला र पुरुष दुवैतर्फका १० हजार मिटर दौडका विजेताले १५ हजार रुपैयाँ, ५ किलोमिटर दौड छात्र र छात्राका विजेताले समान १० हजार, दृष्टीविहीन पुरुष महिला विजेताले ५ हजार, ह्विल चियरका विजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
पोखरेली मञ्चको सहयोग
१४ औं सस्करणको पोखरा म्याराथन सफल बनाउन पोखरेली मञ्च युकेले भुतपुर्व खेलाडी मञ्च नेपाललाई ७ लाख ५० हजार नगद सहयोग गरेको छ । युकेमा पूर्व राष्ट्रिय खेलाडी मञ्जु गुरुङ संयोजक रहने गरि गठित समितिले उक्त रकम संकलन गरि प्रदान गरेको हो ।
मञ्चका अध्यक्ष मानप्रसाद गुरुङ र संयोजक मञ्जु गुरुङले उक्त रकमको चेक तेज गुरुङलाई हस्तान्तरण गरेका छन । पोखरेली मञ्च युके भूतपूर्व खेलाडी मञ्चको अन्तर्राष्ट्रिय सहयोगी संस्था समेत हो । गत वर्षबाट मञ्चले सहयोग गर्दै आइरहेको छ । यसका अलवा मञ्चले विजेता धावकहरुका लागि बेलायतमा निर्मित मेडलहरु समेत मञ्चका अध्यक्ष गुरुङलाई प्रदान गरेको छ ।
अपाङ्गहरुका लागि हुने ह्विल चियर रेसका विजेताहरुलाई नगद रकम प्रदान गर्न कास्की जिल्ला गल्फ संघका अध्यक्ष मेजर लक्ष्मी गुरुङ एमभिओले नगद २० हजार आफ्नो तर्फबाट सहयोग गरेका छन ।