गण्डकी प्रदेश सरकारले दोस्रो वार्षिकोत्सव भव्य रुपमा मनाउने

-


     मर्दी न्युज    
     फागुन २ गते २०७६ मा प्रकाशित


Mardi News

पोखरा, २ फागुन । गण्डकी प्रदेश सरकारले दोस्रो वार्षिकोत्सव आगामी आईतबार भव्यताका साथ मनाउने भएको छ ।

प्रदेश सरकार स्थापना भएको दुई वर्ष पुगेको उपलक्ष्यमा उपलब्धिसहित वार्षिकोत्सव आगामी आईतबार मनाउने आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रदेश सरकारले वाचा गरेको आधारभुत खानेपानी र हरेक घरमा विद्युत सेवा यसै आर्थिक वर्षभित्र पुरा हुने भएको बताएको छ ।

प्रदेश सरकार गठन भएसँगै पहिलो नीति तथा कार्यक्रममासमेत उल्लेख गरिएको आधारभूत खानेपानी तथा हरेक घरमा विद्युत कार्यक्रम यही फागुन ४ गते पुरा गर्नुपर्नेमा केही बाँकी रहेको र यसै चालु आर्थिक वर्षभित्र सक्ने मन्त्री गुरुङले बताए ।

प्रदेश सरकार स्थापना भएको दुई वर्ष पुगेको उपलक्ष्यमा प्रदेश प्रमुख अमिक शेरचनको प्रमुख आतिथ्यतामा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले बोल्ने कार्यक्रम रहेको मन्त्री गुरुङले जनाए । उक्त अवसरमा उत्कृष्ट कर्मचारीलाई सम्मानसमेत गरिने भएको छ । कार्यक्रममा सांसद, मन्त्री, पूर्वमन्त्रीदेखि लब्ध प्रतिष्ठित व्यक्ति, सबै राजनीतिक दलका नेताहरुसहित आम जनतालाई कार्यक्रममा सहभागिताको लागि आव्हान गरिएको प्रदेश सरकारले जनाएको छ ।

त्यसै गरी प्रदेश सरकारले हाल केही महत्वपूर्ण कार्य योजनाहरु अघि बढाउदै गरेको पनि मन्त्री गुरुङले उल्लेख गरे । प्रदेश सरकारको मुख्य प्राथमिकताका केन्द्रमा रहेका गण्डकी विश्वविद्यालय, र गण्डकी प्राविधिक शिक्षालयको स्थापना गर्ने कार्य अब छिटै साकार रुप लिने भएको उनले जनाए । यसको लागि कानुन र बजेटको व्यवस्था भइसकेकोले पदाधिकारी तथा कर्मचारी छनौट तथा व्यवस्थापनको कार्य अगाडि बढेको उनले बताए । हाल प्रदेश सरकारका १ सय ५४ वटा निकाय र कार्यालयहरु स्थापना भई सेवा प्रवाह तथा विकास निर्माणका कार्य सम्पादन गरिरहेको मन्त्री गुरुङले जनाए ।

गण्डकी प्रदेश सरकारको गौरवको रूपमा रहेका गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक शिक्षालय स्थापनाको लागि संघीय सरकारले जग्गा हस्तान्तरणको निर्णय गरिसकेको हुँदा जग्गा प्राप्ति भैसकेको सरकारले जनाएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिस अनुसार संघीय सरकारबाट आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक २८ करोड ५८ लाख ८९ हजार रोयल्टी (खानी तथा खनिज, पर्वतारोहरण, विद्युत, वन र जलस्रोत ) बापत प्राप्त भएको मन्त्री गुरुङले जनाए ।

प्रदेश सरकारबाट गण्डकी प्रदेशभित्रका ८५ स्थानीय तहलाई दिइने चार प्रकारका वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदानमध्ये वित्तीय समानीकरण अनुदान बाहेक अन्य अनुदानको लागि कार्याविधि बनाई अनुदान हस्तान्तरण (वित्तीय हस्तान्तरण) गरिएको छ ।

स्थानीय तहलाई आर्थिक वर्ष २०७५÷७६ मा १ अरब २० करोड वित्तीय हस्तान्तरण गरिएकोमा र चालु आर्थिक वर्ष २०७६÷७७ मा स्थानीय तहको प्रशासकीय भवन निर्माण, वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान गरी कुल २ अरब ४५ करोड ७८ लाख विनियोजन गरी विनियोजन ऐन, २०७६ तथा त्यस आनुसार कार्याविधिमा तोकिएको समय र शर्तको अधीनमा रही स्थानीय तहको सञ्चित कोषमा अनुदान हस्तान्तरण गरिएको सरकारले जनाएको छ ।

१० वटा स्थानीय तहहरु (घिरिङ, गलकोट, सुन्दरबजार, बन्दिपुर, लोमन्थाङ, चुमनुब्री, नार्पाभूमी, हुप्सेकोट, विनयी त्रिवेणी र रघुगंगा) मा प्रहरी चौकी तथा कार्यालय निर्माण कार्य भइरहेको छ । पोखरा महानगरपालिकासँगको साझेदारीमा फेवातालमा सिल्टेशन बाँध र फेवातालको ड्यामसाइडमा माछापुच्छ्रेको छायाँसँगै झण्डाको छायाँसमेत देखिने गरी नेपालको झण्डा निर्माण गर्ने कार्य अघि बढेको उनले जनाए ।

नवलपरासी जिल्लाको हुप्सेकोट गाउँपालिकामा रहेको फलाम खानी उत्खननका लागि नेपाल सरकारले सार्वजनिक निजी साझेदारीमा धौबादी फलाम कम्पनी स्थापना गरी थप कार्य अगाडि बढाएको मन्त्री गुरुङले बताए । उक्त कम्पनीको चुक्ता पुँजी ४ अरब रूपैयाँ रहेकोमा सोको ३ प्रतिशतले हुने १२ करोड रूपैयाँ प्रदेश सरकारलाई शेयरकोरूपमा लगानी गर्न नेपाल सरकारले कम्पनीको प्रबन्धपत्रमा व्यवस्था गरेकोमा प्रदेश सरकारको शेयर लगानी १५ प्रतिशत पुर्याइ ६० करोड शेयर लगानीका लागि नेपाल सरकारसँग अनुरोध गरिएको छ ।