पोखरा सफल म्याराथनको विजेता त्योसुके ताकानासी

-


     मर्दी न्युज    
     ३ फाल्गुन २०७६ मा प्रकाशित


फाइल तस्विर

पोखरा, ३ फागुन । पोखरा सफल म्याराथनमा जापानका त्योसुके ताकानासी विजेता बनेका छन् । कुल ४२.९ किलोमिटरको दौड उनले २ घण्टा २६ मिनेटमा पूरा गर्दै उनी प्रथम स्थानमा आएका हुन् ।
पोखरा रंगशालाबाट शनिवार बिहान ७ बजे शुरु भएको म्याराथन पोखराका विभिन्न स्थान हुँदै पोखरा रंगशालामा पुग्ने निर्धारण गरिएको थियो ।

त्यसैगरी धावक किरणसिंह बोगटीले २ घण्टा २८ मिनेटमा पार गर्दै दोस्रो स्थान हात पार्न सफल भएका छन् । वोगटी १३ औं दक्षिण एसियाली खेलकुद अन्तरगत म्याराथनका स्वर्ण पदक विजेता पनि हुन् ।

यसैगरी पर्वतका अनिश थापा मगरले २ घण्टा २९ मिनेटमा उक्त दुरी पार गर्दै सफल म्याराथनको तेस्रो स्थान हात पारेका छन् ।

पोखरा म्याराथनको अवसरमा आयोजित १० किमी दौड प्रतियोगितामा पूर्णबहादुर कार्की प्रथम, याङदेव राई द्वितीय र आशिष कुँवर तृतीय हुन सफल भएको छ । त्यसैगरी महिला १० किमी दौडतर्फ इन्द्रकला नेम्वाङ प्रथम, अनिता राई दोस्रो र अमेरिकाका वेण्डी तेस्रो स्थान हात पार्न सफल भएका छन् ।

५ किमी छात्रतर्फ विनोद गुरुङ प्रथम, विवेक परियार दोस्रो र प्रदिप भुजेल तेस्रो भएका छन् भने छात्रातर्फ विनु विक प्रथम, प्रतिक्षा सुवेदी दोस्रो र माधुरीदेवि कुर्मी तेस्रो भएका छन् ।

पोखरा म्याराथनलाई विश्व शान्तिको कामना गर्दै पिस टर्चसहित दौडिन विभिन्न १३ देशका विदेशी धावकहरु पनि सहभागी थिए । टोलीको नेतृत्व युनेस्कोका पूर्व अध्यक्ष डेभिडसन हेप्वर्नले गरेका थिए ।

म्याराथनको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गरेका थिए ।