पोखरा, ८ फागुन । महाशिवरात्री पर्वलाई लक्षित गर्दै पोखरामा करिब २ करोड मूल्य बराबरको उखु भित्रिएको छ । गतवर्षको तुलनामा यस वर्ष दोब्बर उखु भित्रिएको कृषि बजार व्यवस्थापनका योजना सहायक रुपा दाहालले बताइन् । उनले बुधवारसम्ममा ११५ टनभन्दा बढी उखु भित्रिएको बताए ।
यसै गरी २५ वर्षदेखि पोखरामा उखु व्यापार गर्दै आएका झापाका व्यापारी रेवती घिमिरेले पनि गतवर्षको तुलनामा दोब्बर उखु भित्र्याएको बताएका छन् ।
पोखरामा विभिन्न जिल्लाबाट उखु भित्रिएको छ । यस वर्ष सुनसरी, झापा, मकवानपुर, धादिङ र गोरखाबाट करिब २ करोड मूल्य बराबरको उखु भित्रिएको योजना सहायक रुपा दाहालले बताइन् । शिवरात्रीमा प्रायः गरी शिवका भक्तहरुले प्रसादको रुपमा उखु चढाउने तथा उखु पड्काउने र खाने प्रचलन छ ।
शिवरात्रिको अवसरमा समग्र पोखरा क्षेत्रमा गत वर्षको तुलनामा दोब्बर उखु भित्रिएसंगै उखुको मुल्यमा केही कमी भएको एक व्यवसायी रेवती घिमिरेले बताए । झापाका उखु व्यापारी घिमिरेले भने यस वर्ष पोखरामा शिवरात्रिको अवसरमा मात्र करिब ४०० मेट्रिक टन उखु भित्राएको बताएका हुन् । विभिन्न व्यापारीहरु मिलेर २० टन क्षमताको ट्रकमा उखु ढुवानी गर्ने र सबै जोड्दा २० ट्रक पुग्ने हुनाले ४ सय टन जति उखु भित्रिएको उनले बताएका हुन् । उनले पोखरामा सधै जसो कालो ग्यामारे जातको उखु जुसको लागि समेत बिक्री गर्दै आएका छन भने उक्त उखु धरानबाट उनले खरिद गरेका हुन् ।
पोखराको शान्ति वनवाटिकाको फलफूल तथा तरकारी बजारमा भेटिएको अर्का व्यवसायी गणेश तिवारीले यस वर्ष १५ मेट्रिक टन उखु खरिद गरी बिक्री गर्न थालेका छन् । उनले गत वर्ष मात्र उखुबाट ३ लाखको कारोवार गरेका थिए । उनले धादिङबाट उखु खरिद गरेका हुन् ।
पछिल्लो समयमा उखु खानेहरुको सङ्ख्या विस्तारै घट्दै जाँदा पनि शिवरात्रीको अवसरमा बुधवारसम्ममा ११५ टन उखु भित्रिएको रुपा दाहालले बताइन् ।
पोखरामा कालो ग्यामारे तथा सेतो जातको उखु पट्काउन बढी प्रयोग हुने गरेको छ । प्रति मुठामा १५ पिस उखु हुन्छ, प्रति मुठाको मुल्य ७ सयदेखि हाल ९ सय रुपैयाँसम्म पर्ने गर्छ । प्रति लार्का उखुको मुल्य ८० देखि १ सयसम्म पर्छ । पोखरा क्षेत्रका किराना पसल देखि फलफुल पसलमा विहीबारदेखि उखु बिक्रीको लागि राखिएको छ ।
कालोजातको उखु खानको लागि र सेतो जातको उखु शिवरात्रीको अवसमा धुनी लगाउँदा पड्काउन प्रयोग गरिने भएको एक व्यवसायीले बताए । पोखरामा सामान्यतया होलसेल मूल्य कालो उखु प्रति लार्को ४० देखि ८० र सेता उखुको प्रति लार्कोको मुल्य १० देखि २० रुपैयाँ पर्ने भएको बताए ।
महाशिवरात्री पर्व भोलि फागुन ९ गते शुक्रवार परेको छ । शिवरात्रीको अवसरमा साँझदेखि देशका विभिन्न ठाउँका शिवमन्दिर एवं चौतारा तथा चोकमा धुनी लगाउने र उखु पड्काउने तथा उखु खाने प्रचलन रहेको छ ।