पोखरा थिएटरमा ‘यो कस्तो महाभारत’ नाटक मञ्चन

-


     मर्दी न्युज    
     फागुन ९ गते २०७६ मा प्रकाशित


पोखरा, ९ फागुन । पोखरा थिएटरमा ‘यो कस्तो महाभारत’ नाटक मञ्चन गरिएको छ । पोखराको ग्रैहापाटनस्थित गन्धर्व नाटक घरमा ‘यो कस्तो महाभारत’ नाटक आज शुक्रवारबाट प्रिमियर कार्यक्रमसहित मञ्चन गरिएको हो ।

प्रिमियर सो पश्चात आफ्ना भनाइ राख्दै गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले ‘यो कस्तो महाभारत’ नाटकले वर्तमान राजनीतिक परिवेशलाई समेत समेट्दै कलाकारहरुको अभिनयमार्फत दर्शकको मन जित्न सफल भएको बताए । मन्त्री गुरुङले अगाडि भने ‘विश्व प्रशिद्ध महाभारतको पौराणिक कथा र पात्रहरूलाई नेपालको विगत जनआन्दोलन र परिवर्तन यसका साथै गुटउपगुटमा आधारित वर्तमान राजनीतिक अवस्था र सत्ता संघर्षका घीनलाग्दो खेलहरूलाई तथा समय सन्दर्भलाई जोड्दै र व्यङ्ग्य गर्दै बुनिएको एउटा सशक्त नाटक हो ।’ उनले भने– ‘बुद्धको सन्देश हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ, त्यस्तै यो कस्तो महाभारत पनि सधैं यथावत रहन्छ ।’

त्यसैगरी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठले यो कस्तो महाभारत नाटकका पहिलो प्रिमियर सो भएकोले भोलि पर्सि अझ परिस्कृत हुँदै जानेमा विश्वस्त रहेको बताए । ‘विश्व प्रसिद्ध महाभारतमाथि धेरै काव्य, कथा, कविता, उपन्यास र नाटकहरु लेखेका छन्, महाभारतका चरित्रमाथि लेखिन क्रम अहिले पनि जारी छ ।, श्रेष्ठले भने– ‘राष्ट्रकवि माधव घिमिरेले पनि महाभारतकै एउटा चरित्रमाथि काव्य नाटक लेखेका छन्, त्यसैले यो महाभारत भनेको धर्म, राजनीति सबैको अनन्त सम्भावना छ, जति लेखिएपनि नसकिने विषयवस्तु रहेको छ ।’ नवोदित नाटककार दीपक पराजुली र नवोदित निर्देशक पञ्चसुब्बा गुरुङ ‘दिलु’लाई यो कस्तो महाभारत नाटकबाट अहिलेको राजनीतिक सुन्दरतालाई अत्यन्तै राम्रो ढंगबाट पस्कन सफल भएकोमा तारिफ गर्दै धन्यवाद दिए ।

दीपक पराजुलीले लेखेको सो नाटक फागुन ९ देखि २४ सम्म मञ्चन हुनेछ । पोखरा थिएटरको ११ औँ प्रस्तुतिको यो नाटक मंगलबार बाहेक हरेक साँझ ५ बजे तथा शनिबार अतिरिक्त सो दिउँसो १ बजे समेत हेर्न पाइने छ ।

नाटक पञ्चसुब्बा गुरुङको परिकल्पना तथा निर्देशनमा तयार भएको हो । गुरुङको यो डेब्यु निर्देशन हो । नाटकमा धृतराष्ट्र र अश्त्थामाको भूमिकामा निश्चल विमल, सञ्जयको भुमिकामा रोशन ज्ञवाली, भीष्मपितामहको भूमिकामा रमेशबाबु तिमिल्सिना, दुर्योधनमा नवराज गिरी, शकुनीमा विष्णु तिमिल्सिना, यूधिष्ठिरमा राजेन्द्र अधिकारी, अजुर्ननमा सरोज तिवारी, काशी नरेशमा सुमन तिमिल्सिना, सहदेवमा गौरव पौडेल, कर्णमा एमडि काफ्ले, सैनिकमा अञ्जन रोका, प्रतीक घिमिरे र धनकाजी श्रेष्ठले अभिनय गरेका छन् । नाटक एक घण्टा लामो बनेको छ ।