आज ग्याल्बो ल्होसार, गण्डकी प्रदेशका मुख्यमन्त्रीले पनि दिए शुभकामना

-


     मर्दी न्युज    
     १२ फाल्गुन २०७६ मा प्रकाशित


पोखरा, १२ फागुन । हरेक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्बो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुण शुक्लपक्ष प्रतिपदा तिथिमा महायान बौंद्ध धर्मावलम्वीहरूले मनाउने ग्याल्बो ल्होसार–२०७६ (नया वर्ष) को अवसरमा शेर्पा जातिमा शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति भण्डारीले सोमबार शुभकामना सन्देश जारी गर्दै नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी शेर्पा लगाएत महायानी बौंद्ध धर्मावलम्वी दिदीबहिनी तथा दाजुभाईमा सुख, शान्ति, एवं उत्तरोउत्तर प्रगतिको शुभकामना दिनुभएको हो ।

ग्याल्बो ल्होसार नेपाली संस्कृतिकै एक महत्वपूर्ण अङ्ग भएको उल्लेख गर्दै उहाँले यस्ता चाडपर्वले विविध संस्कृति अँगालेको नेपालीहरुका बीचमा सहिष्णुता, पारस्परिक सद्भाव र सहयोग अभिवृद्धि हुनुका साथै राष्ट्रिय एकतालाई सुदृढ गर्न सघाउ पुग्नेछ भन्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले ग्याल्बो ल्होसार पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षोल्लास, शान्ति र भ्रातृत्वको सन्देश फैलाउन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

त्यसैगरी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि शुभकामना सन्देश दिनुभएको छ । शुभकामना सन्देशमा भनिएको छ – ‘लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था नेपाली जनताले लामो संघर्ष पछि प्राप्त गरेका उपलब्धी हुन् । बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा यस्ता विविधतायुक्त धार्मिक एवम् साँस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजवुत बनाउन महत्वपूर्ण योगदान दिंदै आएका छन् । यस पर्वले पनि विविध धर्म, संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा लिएको छु ।’

नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७ औँ ग्याल्बो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको छ ।

ग्याल्बो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाइन्छ । ग्याल्बो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्बो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाउँछन् ।
यस पर्वमा समुदायले आफ्नो घर तथा गाउँटोलको सरसफाइ गर्ने, पुरानो ध्वजाको ठाउँमा नयाँ ध्वजा राख्ने, नौ प्रकारका अन्न मिसाइएको परिकार गुथुक र खाप्से जस्ता मिठो परिकारका साथमा चाङ्कोल पिउँदै नाचगान गर्ने र आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने गर्दछन् ।