सरकार अलोकप्रिय बनाउन विपक्षीहरु लागिपरेका छन्ः प्रधानमन्त्री

-


     मर्दी न्युज    
     फागुन १२ गते २०७६ मा प्रकाशित


पोखरा, १२ फागुन । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अलोकप्रिय बनाउन विपक्षीहरू लागिपरेको बताएका छन् ।

पोखरामा सोमबार पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले विपक्षीले अनावश्यक विषयलाई ‘इस्यु’ बनाएर जनतामा भ्रम छरेको पनि आरोप लगाएका हुन् ।

‘संसदमा छलफल गर्ने पर्याप्त कुरा छैन अनि जनतामा भ्रम छर्ने, सरकारलाई अलोकप्रिय बनाउन भूमिका खेल्ने भइरहेको छ ।’ प्रधानमन्त्री ओलीले भने, संसदमा के विषयमा विधेयक लिएर गएको छ भन्दा पनि विपक्षीले कुरै नबुझी विरोध गर्ने गरेका छन् ।’

प्रधानमन्त्रीले प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्नु अघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले धेरै कम्युुनिस्ट नेताहरु जनतामा जान छाडेको र नव सामन्तजस्तो भएको टिप्पणी गरेका छन् ।

‘हामी जनमानसमा पुग्दैनौं । झुपडीमा पुग्दैनौं ।’ मुख्यमन्त्री गुरुङले भने, ‘जनता र कम्युनिस्ट सरकारको सम्बन्ध बिग्रदै गएको छ, यसको सुधार गर्न आवश्यक छ ।’

कम्युनिस्ट पार्टीको अस्तित्व सकिने गरी कुनै पनि गतिविधि क्रियाकलाप वा चलखेल गर्नु हुँदैन भन्दै उनले भने, ‘३ वर्षभित्र कम्युनिस्ट पार्टी फेरि पनि जनताको कसीमा बाँधिनुपर्छ । कम्युनिस्ट पार्टीको अस्तित्व सकिने गरी कुनै पनि गतिविधि क्रियाकलाप वा चलखेल गर्नु हुँदैन,’ उनले भने । मुख्यममन्त्री गुरुङले आफैंलाई सिध्याउने बाटोमा लागिराखेकाले प्रतिक्रियावादीले नेकपाका विरुछ खेलिरहेको बताए ।