फाइल फोटो
पोखरा, १३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भ्रष्टाचार र अनियमितताका विषयमा प्रधानमन्त्रीले संसद्मा जवाफ दिन माग गरेको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेस सांसद मीनेन्द्र रिजालले तत्कालीन सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसमा ७० करोड कमिसनका लागि गरेको मोलमोलाइ, नेपाल ट्रष्टको जग्गा मनलाग्दी रूपमा यति कम्पनीलाई दिने र बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई प्रभावित पार्ने काम लाजमर्दा भएको बताए ।
‘कमिसन धेरै आउने नाममा मन्त्रीले ठेक्का रकम बढाएको सुनिन्छ । सञ्चार मन्त्रालयमै खर्बौंका ठेक्का थिए । अप्टिकल फाइबर, थ्रीजी, फोरजी, स्याटेलाइट सबैमा भ्रष्टाचार छ,’ रिजालले भने, ‘त्यही भएर अरू सबै तुलोको एकातिर गोकुल बाँस्कोटा एक्लै अर्कातिर भनेको होला ।’
प्रधानमन्त्री केपी ओलीले नेपालको नक्सा अंकित केक काटेर जन्मोत्सव मनाएको प्रति सांसद मिलेन्द्र रिजालले प्रधानमन्त्रीजस्तो प्रतिष्ठित व्यक्तित्वले यसरी तामझाम गरेर जन्म दिन मनाउनु शोभनीय नभएको बताएका छन् । उनले भने,’ नेपालको नक्सा काटेर किन बर्थडे मनाएको ? ‘त्यो घरलाई पनि लाग्यो होला आफ्नो खड्गप्रसाद होइन, राजा महाराजा हो ।’
‘जन्म दिनमा चार हजार वृद्धवृद्धालाई सारी र कोट बाड्ने कार्यक्रम थियो भन्ने सुन्नमा आएको छ,’ उनले भने, ‘पहिले राजामाहाराजले आफ्नो जन्म दिनमा केटाकेटीलाई मिठाइ बाँड्ने गरेको देखेर तपाईलाई पनि इच्छा लागेको होला तर त्यो आवश्यक थिएन ।’