फिर्केखोला अतिक्रमण हटाउन पोखरा महानगरको अभियान सुरु

-


     मर्दी न्युज    
     जेठ १० गते २०८३ मा प्रकाशित


पोखरा महानगरपालिकाले फिर्के खोलाको सीमाभित्र निर्माण गरिएका संरचना हटाउने कार्य सुरु गरेको छ । महानगरले खोलाघर क्षेत्र खाली गराउँदै करिडोर निर्माणको योजना अघि बढाएको जनाएको छ ।

महानगर प्रमुख धनराज आचार्य तथा सम्बन्धित वडाका जनप्रतिनिधिको उपस्थितिमा आइतबार बिहानदेखि तीन स्थानबाट एकैसाथ डोजर परिचालन गरिएको हो ।

प्रारम्भिक चरणमा जिरो किमीदेखि सिर्जना चोकसम्म फिर्के खोलामाथि निर्माण गरिएका संरचना हटाउने काम थालिएको छ । उक्त खण्डमा लायन्स भवन क्षेत्रबाट भत्काउने कार्य सुरु गरी वडा नम्बर ६ तर्फ अघि बढाइएको जनाइएको छ ।

त्यसैगरी अर्को टोलीले वडा नम्बर २ र १८ को सीमास्थित अँधेरी कुनाबाट संरचना हटाउने काम सुरु गरेको छ । यो अभियान वडा नम्बर ४ सम्म विस्तार गरिने महानगरले जनाएको छ । अर्को डोजर वडा नम्बर ४ र ५ को सीमास्थित फिर्केपुल-बूढानीलकण्ठ मन्दिर क्षेत्रबाट परिचालन गरिएको छ, जसले वडा नम्बर ५ र ८ तर्फको क्षेत्र समेट्नेछ ।

महानगरका अनुसार २०८० असारमा गरिएको फिर्केखोला नापजाँच प्रतिवेदनका आधारमा खोलाघरभित्र परेका सबै स्थायी तथा अस्थायी संरचना हटाउन थालिएको हो । प्रतिवेदनमा खोलाघर क्षेत्रभित्र करिब १६० वटा संरचना रहेको उल्लेख गरिएको छ । तीमध्ये सरकारी कार्यालय, प्रदेश प्रहरीका संरचना, सामुदायिक भवन तथा निजी आवाससमेत रहेका छन् ।

यसअघि महानगरले जेठ ३ गते सार्वजनिक सूचना जारी गर्दै जेठ ९ भित्र सम्बन्धित पक्षलाई आफ्ना संरचना स्वेच्छाले हटाउन आग्रह गरेको थियो । तोकिएको अवधि समाप्त भएपछि महानगरले डोजरमार्फत हटाउने प्रक्रिया अघि बढाएको हो ।

महानगरको सूचना सार्वजनिक भएपछि केही संघसंस्था तथा स्थानीय बासिन्दाले आफ्ना संरचना स्वयं हटाउन सुरु गरेका थिए । त्यसमध्ये फोटोग्राफर संघ, लायन्स क्लब तथा अन्य केही स्थानीयले स्वेच्छिक रूपमा संरचना हटाएको जनाइएको छ ।