५१ अंकले बढ्यो नेप्से, सेयर बजारमा खुशीयाली

-


     मर्दी न्युज    
     १४ फाल्गुन २०७६ मा प्रकाशित


काठमाडौं, १४ फागुन । केही दिनदेखि उकालो लागेको पूँजी बजारले बुधबार पनि नयाँ किर्तिमान कायम गरेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ५० दशमलव ९३ अंक बढ्दा रू. ४ अर्ब १५ करोडभन्दा बढीको शेयर कारोबार भई रकमका आधारमा नयाँ कीर्तिमान कायम भएको छ ।

यसअघि नेप्सेमा आइतवार रू. ३ अर्ब ६० करोडको कारोबार भएको थियो । यस्तै बुधवार ५० दशमलव ९३ अंकले नेप्से परिसूचक बढ्दा १ हजार ५९६ दशमलव १३ विन्दुमा कायम रहेको छ । जुन ३० महीना यताकै उच्च विन्दु हो । यस अघि २०७४ भदौ १४ मा परिसूचक १ हजार ५९८ दशमलव ३६ विन्दुमा रहेको थियो ।

कारोबारमा देखिएको किर्तिमानी उत्साहसँगै नेप्से परिसूचकमा त्यस्तै उछाल देखिएको छ ।

बुधबार शेयर बजारमा ९९ लाख ६ हजार ९८९ कित्ता शेयर खरिदबिक्री भएका छन् । कारोबार भएका १२ वटै समूहका सूचक बढेका छन् ।

सबैभन्दा बढी जीवन बिमा समूह ५७१.१८ अंकले वृद्धि भएको छ । निर्जीवन बिमा समूह पनि २३३.५१ अंकले माथि लागेको छ । वाणिज्य बैंक समूहको सूचक ५०.४७ अंकले वृद्धि भएको छ ।

कारोबार र परिसूचक दुवैमा लगातार वृद्धि हुँदा लगानीकर्ताहरु निकै उत्साहित देखिएका छन् । लामो समय निरन्तर ओरालो लाग्दै सुस्ताएको सेयर बजारमा दुई सातादेखि हरियाली छाएको हो ।