
पोखरा, १६ फागुन । नेपाल पर्यटक यातायात व्यवसायी संघको आयोजना तथा पोखरा पर्यटन परिषद र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको समन्वयमा पर्यटक बोक्ने गाडी चलाउने चालक तथा सहचालकहरुलाई दुईदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
पोखराको लेकसाइडस्थित एक होटलको सभाहलमा दिइएको प्रशिक्षण कार्यक्रममा संघमा आबद्ध ८६ वटै सदस्य कम्पनीका गाडीका चालक तथा सहचालकहरुको सहभागिता रहेको संघका अध्यक्ष बोबरजङ्ग गुरुङले बताउनु भयो ।
प्रशिक्षणमा सहभागीहरुलाई अतिथि सत्कार, ट्राफिक नियम, प्राथमिक उपचार लगायतका विषयमा प्रशिक्षण दिइने संघका महासचिव सुरेश दाहालले बताउनु भयो ।

आज भएको उद्घाटन कार्यक्रममा शुभकामना मन्तव्य दिनहुँदै नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशका कार्यालय प्रमुख काशीराज भण्डारीले पर्यटन क्षेत्रमा दक्ष तथा तालिमप्राप्त जनशक्तिको महत्व हुने र सक्षम व्यक्तित्वबाट नेपालको अन्तर्राष्ट्रिय जगतमासमेत सकारात्मक सन्देश पुग्ने बताउनु भयो ।
प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले तालिमको महत्वबारे प्रकाश पार्नुहुँदै तालिममा सहभागीहरुलाई सफलताको शुभकामना दिनु भयो । संघका अध्यक्ष भोबरजङ्ग गुरुङको अध्यक्षतामा शुरु भएको तालिम भोलि शनिवारसम्म चल्नेछ । उद्घाटन सत्रको कार्यक्रमको संचालन महासचिव सुरेश दाहालले गर्नु भएको थियो ।

