
काठमाडौं, १८ फागुन । विश्वव्यापी रुपमा कोरोना भाइरसको प्रभाव फैलिरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तत्कालका लागि मेला, महोत्सव र भोजभतेर नगर्न अनुरोध गरेको छ ।
विश्व स्वास्थ्य संगठनले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहेको चेतावनी दिएपछि स्वास्थ्य मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी यस्तो अनुरोध गरेको हो ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाको जोखिम कम गर्न तत्कालका लागि महोत्सव, सभा समारोह जस्ता भिडभाड हुने कार्यक्रम नगर्न आग्रह गरेका हुन । आवश्यक परेमा अन्तर्राष्ट्रिय उडानसमेत रोक्ने सरकारको तयारी रहेको उनले बताए ।
अहिले भारइसकै कारण बहुप्रतिक्षित सगरमाथा सम्वाद कार्यक्रम पनि तत्काललाई स्थगित गर्ने तयारी गरेको उनको भनाइ छ । अहिले त्रिभुवन विमानस्थलमा ६ वटा थर्मल स्क्रयानर राखिएको बताउँदै केही समयका लागि विमानस्थल पूरै बन्द गर्ने कि भन्नेबारे पनि छलफल भइरहेको उनले जानकारी दिए ।
चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण युरोप र मध्यपूर्वसम्म देखिएपछि सरकारले उच्च सतर्कता अपनाउने भएको हो । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपाललाई उच्च जोखिममा राखेको तथा नेपालमा बाक्लो आवातजावत रहेका चीनबाहेकका अन्य देशहरुमा समेत भाइरस देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मन्त्रीहरुको बैठक बोलाएका थिए ।
बालुवाटारमा बसेको बैठकले कोरोना रोकथामको पूर्व तयारी गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति बनाएको छ । गृह, पर्यटन, स्वास्थ्य, अर्थ, शिक्षा लगायतका मन्त्री समेत रहेको यो समितिले नेपालसँग हवाईसहित यातायात सञ्जालले जोडिएका देशहरुको गतिविधिलाई नजिकबाट हेर्नेछ र रोकथामका लागि आवश्यक निर्णय गर्नेछ ।
स्रोतकाअनुसार बैठकमा कोरोना भाइरसको संक्रामण फैलिएका देशबाट उडान आजतजावत तथा रोक्ने विषयमा समेत छलफल भएको थियो । अब यो समितिले नै यसबारे अध्ययन गरेर आवश्यक निर्णय गर्नेछ ।
प्रधानमन्त्रीले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा हरेक यात्रुको चेकजाँच गर्न, चेकजाचको उपकरण र औषधिहरु पर्याप्त भण्डारण गर्न र चिकित्सकहरुलाई परिचालन गर्न निर्दशन दिएका छन् ।