काठमाडौं, १९ फागुन । चीनको वुहानबाट उद्दार गरेर नेपाल ल्याइएका १ सय ७५ जनामा कोरोनाको संक्रमण नभएको पुष्टि भएको छ ।
१४ दिनसम्म क्वारेन्टाइनमा राखेपछि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । सबैको स्वास्थ्य परीक्षणमा कसैमा पनि कोरोनाको संक्रमण नपाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
चीनको वुहानमा कोरोना संक्रमण फैलिएपछि सरकारले त्यहाँ रहेका १ सय ७५ जनालाई ४ फागुनमा उद्दार गरेको थियो । उनीहरुलाई भक्तपुर, खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो ।
चीनको वुहानबाट उद्धार गरिएका नेपाली मध्ये १८ जनालाई क्वारेन्टाइनबाट आइतबार घर पठाइएको थियो । आज (सोमबार) थप १ सय ५७ जनालाई विदाई गर्ने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाले बताए ।