
फोटोः नेपाल खबर
वाशुदेव मिश्र
बेनी–जोमसोम सडकखण्डमा सुख्खापहिरो जाँदा दुईवटा स्काभेटर पुरिएको छन्। पहिरोमा स्काभेटरका चालक पनि पुरिएका बताइएको छ।
यो समाचार तयार पार्दासम्म त्यहाँ उद्धारको काम सुरु भएको छैन। दिनभर बाटो खनेर बाटो सफा गर्दैगर्दा माथिबाट आएको सुख्खा पहिरोले स्काभेटरपुरिएको प्रत्यक्षदर्शी विजय केसीले जानकारी दिए।
बेनी–जोमसोम सडकखण्ड अहिले निर्माणकै क्रममा छ। घटनास्थल घाँसाभन्दा ५ किलोमिटर टाढा रहेको उनले जानकारी दिए। सुख्खा पहिरो जाँदा सो सडकखण्डमा सवारी आवागमन ठप्प भएको छ।
जिल्ला प्रहरी कार्यलय मुस्ताङले दुईवटा स्काभेटर पुरिएको खबर आएको बताएको छ। पहिरो गएको स्थान दुर्गम भएको टेलिफोन नलाग्ने भएकाले बिस्तृत विवरण प्राप्त हुन कठिनाई भएको प्रहरीले बताएको छ।
उद्धारका लागि अहिले प्रहरी टोली घटनास्थलतर्फ हिँडेको सञ्चार शाखामा कार्यरत जवान सुदीप लम्सालले नेपालखबरलाई जानकारी दिए।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमु्ख प्रहरी निरीक्षक विनोद सुवेदीका अनुसार दुईवटा स्काभेटर पुरिएको स्थानीयले दाबी गरे पनि त्यहाँ एउटा स्काभेटर मात्रै पुरिएको देखिएको छ। उनका अनुसार त्यहाँ पुगेको प्रहरी तथा स्थानीयले स्काभेटर चालक पुरिएकाे दाबी गरेका छन्। पहिरो अहिले पनि खसिरहेकोले उद्धारमा कठिनाई भएको उनले जनाए। पहिरो खस्दा घाइते भएका एकजनालाई उपचारको लागि लेते पठाइएको छ। नेपाल खबर