माघ २४ मा निर्वाचित राष्ट्रियसभा सदस्यको शपथ आज

-


     मर्दी न्युज    
     फागुन २१ गते २०७६ मा प्रकाशित


Mardi News

काठमाडौँ, २१ फागुन । राष्ट्रिय सभामा नवनियुक्त १८ सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ११ बजे सदस्यहरूको शपथ राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गराउने संघीय संसद सचिवालयले जनाएको छ ।

मङ्गलबारदेखि राष्ट्रियसभाका १९ सदस्यको कार्यकाल दुई वर्षमा सकिने संवैधानिक प्रावधान अनुसार रिक्त हुने स्थानमा माघ २४ गते निर्वाचन भएको थियो । निर्वाचित सदस्यहरूले फागुन २१ गते बुधबारदेखि औपचारिक रूपमा जिम्मेवारी पाउँदैछन् ।

पहिलो पटक निर्वाचन भएपछि १९ जना सदस्यहरूको कार्यकाल गोलाप्रथाबाट निर्धारण गरिएको थियो । जसमा पहिलो दुई वर्षको कार्यकाल रहेका १९ जनाको औपचारिक रूपमा राष्ट्रिय सभाबाट बिदाइ भएको छ ।

निर्वाचन भएका १८ स्थानमध्ये १६ सिट सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले जितेको छ । राष्ट्रिय जनता पार्टीले दुई सिटमा जित हासिल गर्दा अन्य दलले कुनै पनि स्थानमा जित हासिल गर्न सकेका छैनन् । मन्त्रिपरिषद्बाट मनोनीत हुने एक सदस्य सरकारले सिफारिस गरिसकेको छैन ।

बुधबार नवनिर्वाचित सदस्यहरू इन्दिरादेवी गौतम, गोपीबहादुर सार्की अछामी, देवेन्द्र दाहाल, तुलसाकुमारी दाहाल, राधेश्याम पासवान, शेखरकुमार सिंह, मृगेन्द्रकुमारसिंह यादव, गङ्गाकुमारी बेल्बासे, वेदुराम भुसाल, भगवती न्यौपाने, नारायणकाजी श्रेष्ठ, विमला घिमिरे, जगप्रसाद शर्मा, गोपाल भट्टराई, सुमित्रा बिसी, मायाप्रसाद शर्मा, शारदादेवी भट्ट र तारामान स्वाँरको शपथ हुनेछ ।