विभागीय टिम एपिएफलाई हराउँदै झापा–११ क्वाटरफाइनलमा

-


     मर्दी न्युज    
     फागुन २३ गते २०७६ मा प्रकाशित


फोटोः सुदर्शन रञ्जित

पोखरा, २३ फागुन । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता आज दोस्रो दिन जारी १८ औं संस्करणको आहा ! रारा गोल्डकप फुटबलको आज शुक्रवार भएको खेलमा झापा–११ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शुक्रबार विभागीय टिम एपीएफ क्लबलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै झापा अन्तिम आठमा पुगेको हो । प्रतिस्पर्धात्मक खेलको निर्धारित समय र अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो ।

टाइब्रेकरमा एपीएफका सुदिप शिख्राकार गोल गर्न चुके । उनले गरेको प्रहार झापाका किपर राजकुमार लिम्बुले बचाएकै कारण झापा–११ क्वाटरफाइनलमा प्रवेश पाएको हो ।

खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा सुनिल खड्काले गोल गर्दै झापालाई १–० को अग्रता दिलाए । तर, खेल सकिन २ मिनेट बाँकी रहदा आकाश बुढा मगरले गोल गर्दै एपीएफलाई १–१ गोलको बराबरी फर्काएका थिए ।

अब झापाले क्वाटरफाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ । यस अघि बिहिबार पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लबलाई अतिरिक्त समयमा ३–२ गोल अन्तरले पराजित गर्दै आयोजक सहारा क्लब क्वाटरफाइनलमा पुगीसकेको छ ।

सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा १० टोलीले सहभागिता जनाएका छन् ।