पोखरा । आज ११० औं अन्तर्राष्ट्रिय महिला दिवस । कोरोनाभाइरसका कारण सामान्य कार्यक्रम गरेर मनाईंदैछ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभकामना दिएका छन् ।
नेपालमा यसवर्ष ‘समानताको पुस्ताः अन्त्य गरौं हिंसा, विभेद र असमानता’ भन्ने नारा तय गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अन्तर्राष्ट्रिय दिवसको शुभकामना दिंदै लैङ्गिक समानता, महिला सशक्तिकरण, महिला अधिकारको सुनिश्चितता तथा सुख, शान्ति एवम् समृद्धिको कामना गरेका छन् ।
स्वदेश तथा विदेशमा रहेका दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै मुख्यमन्त्री गुरुङले वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक एवम् सबै प्रकारका शोषण, उत्पीडन र विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प रहेको बताएका छन् ।
‘संवैधानिक र कानूनीरुपमा प्राप्त महिला अधिकारलाई पूर्ण कार्यान्वय गर्दै थप अगाडि बढ्नु आवश्यक छ’ सन्देशमा भनिएको छ– ‘नोवल कोरोना भाइरसको संक्रमणले विश्व समुदायलाई नै गम्भीर रुपमा प्रभावित गरिरहेको सन्दर्भमा यस्ता कार्यक्रमहरु मनाइरहँदा नोवल कोराना भाइरस र त्यसबाट जोगिने उपायका सम्बन्धमा सचेत हौं र सचेतना अभियान समेत सञ्चालन गरौं भन्ने आग्रह समेत गर्दछु ।’