
पोखरा, २६ फागुन । संयुक्त अरब इमिरेट्स (यूएई) मा कार्यरत दुई जना नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको छ । दुई नेपालीसहित १४ नयाँ कोरोना संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको हो । योसँगै यूएईमा कोरोनाभाइरस संक्रमितको संख्या ५९ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सोमबार थपिएका नयाँ संक्रमितहरुमध्ये चार जना यूएईका छन् । यस्तै दुई नेपाली, तीन इटालियन, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एकएक नागरिक रहेको गल्फ न्युजले उल्लेख गरेको छ ।
यूएईमा कोरोना संक्रमितमध्ये १२ जना निको भएर घर फर्किएका छन् । पाँच जना सोमबार मात्र घर फर्किएको सञ्चारमाध्यमले जनाएका छन् ।
संक्रमितहरुको कडा स्वास्थ्य सुरक्षाकाबीच उच्च सतरकर्ता अपनाएर उपचार भइरहेको सञ्चारमाध्यमले जनाएको छ ।
अष्ट्रेलियामा पनि नेपाली विद्यार्थीलाई संक्रमण
यस्तै अष्ट्रेलियाको तास्मानिया राज्यस्थित होबार्टमा एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टी भएको छ । उनलाई अस्पताल भर्ना गरिएको छ भने उनीसँग नजिकको सम्पर्कमा रहेका चार जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ ।
फेब्रुअरी २६ मा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट आएका एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण देखिएको नेपाली सोसाइटी अफ तास्मानियाले प्रेस विज्ञप्ति जारी गरी बताएको छ ।
