
पोखरा, ३० फागुन । राष्ट्रिय वाणिज्य बैंक गण्डकी प्रदेशले इम्पावरमेन्ट एकेडेमी सञ्चालनमा ल्याएको छ । बैंकिङ क्षेत्रमा प्रवेश गर्न चाहने युवालाई लक्षित गरी एकेडेमी सञ्चालनमा ल्याएको नायव प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद लम्सालले शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
प्रदेश १ को विराटनगर र प्रदेश ३ को काठमाडौंमा यो कार्यक्रम सम्पन्न भइसकेको उनले जानकारी दिए । तेस्रो चरणको कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशमा इम्पावरमेन्ट एकेडेमीमार्फत ५० जना युवालाई लक्षित गरी कार्यक्रम गर्न लागिएको लम्सालले जानकारी दिए ।
बैंकिङ करिअरमा आउन चाहने युवाहरुलाई ३ दिनका लागि तालिम सञ्चालन गरिनेछ । स्नातक उत्तीर्ण गरेका तथा स्नातक अन्तिम वर्षको परीक्षा दिएर बसेका म्यानेजमेन्टका विद्यार्थीले इम्पावरमेन्ट एकेडेमीमा सहभागी बन्न सक्ने उनले बताए । आवेदन दिनको लागि २८ वर्ष ननाघेको हुनुपर्ने र शुक्रबार साँझबाटै आवेदन खुल्ला रहने लम्सालले जानकारी दिए । १० दिनभित्र आवेदन दिइसक्नुपर्ने पनि उनले बताए । तालिम पूर्ण रुपमा निःशुल्क हुने पनि उनले जानकारी दिए ।
आवेदनमा छनोट भएकालाई चैत १४ देखि १६ गतेसम्म पोखरामा तालिम सञ्चालन गरिने राष्ट्रिय वाणिज्य बैंकका गण्डकी प्रदेश प्रमुख ऋषिराम ढकालले जानकारी दिए ।
‘तालिम पश्चात २ महिनाको ‘पेड इन्टर्नसिप’को सुविधा पनि उपलब्ध छ,’ उनले भने, ‘यही कार्यक्रमलाई बैंकले वीरगञ्जमा पनि आगामी साता सञ्चालन गर्नेछ ।’