कोरोना विरुद्ध लड्न सार्क नेताहरूको जोड

-


     मर्दी न्युज    
     २ चैत्र २०७६ मा प्रकाशित


पोखरा, २ चैत । कोरोना (कोभिड–१९) भाइरसविरुद्ध सार्क मुलुकले साझा रणनीति बनाउनुपर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष एवम् प्रधानमन्त्री ओलीबीच आइतबार साँझ भएको भिडियो कन्फरेन्समा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले अस्पतालको क्षमता बढाएको, रक्षात्मक उपकरण र स्वास्थ्यकर्मीलाई प्रेरित गर्न सुविधा बढाएको प्रष्ट पारे । ‘हामीले अस्पतालको क्षमता बढाइराखेका छौँ’, उनले भने, ‘साथै स्वास्थ्यकर्मीलाई उत्प्रेरित गर्न रक्षात्मक उपकरण र सुविधा प्रदान गरेका छौँ ।’

विश्व महामारीका रूपमा फैलिएको कोभिड– १९ विरूद्ध लड्ने साझा रणनीति बनाउनका लागि यो भिडिओ कन्फरेन्सको प्रस्ताव भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए । कन्फरेन्समा पनि उनैले नेतृत्व लिए । सुरूमा उनले भारतमा कोरोना भाइरसको अवस्था र सरकारले गरिरहेका रोकथाम र उपचारका प्रयासबारे जानकारी दिएका थिए ।