भोलिदेखि एसईई, गण्डकी प्रदेशमा ४७ हजार ५८० परीक्षार्थी

-


     मर्दी न्युज    
     चैत्र ५ गते २०७६ मा प्रकाशित


mardi news

पोखरा, ५ चैत । भोलि बिहीवारदेखि २०७६ सालको एसईई परीक्षासुरु हुँदैछ । यस परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षाका लागि परीक्षा केन्द्र तय गर्ने, उत्तरपुस्तिका तथा प्रश्नपत्र सम्बद्ध स्थानसम्म पु¥याउने, केन्द्राध्यक्षको नियुक्ति लगायतका सबै तयारी सकिएको बोर्डले जनाएको छ ।

यस पटकको परीक्षामा ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुने जानकारी परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले दिएको छ । परीक्षामा छात्रतर्फ २ लाख ३९ हजार ९१ जना र छात्रातर्फ २ लाख ४३ हजार ६१६ जना परीक्षार्थी हुनेछन् । परीक्षामा छात्रको तुलनामा छ हजार बढी छात्रा सहभागी हुनेछन् । परीक्षा साधारण विषयतर्फ चैत १४ र प्राविधिक विषयतर्फ १७ गते सकिने कार्यतालिका छ ।

परीक्षा केन्द्र एक हजार ९९५
२०७६ सालको एसईई परीक्षामा जम्मा एक हजार ९९५ वटा परीक्षा केन्द्र तय गरिएको छ । यसअनुसार प्रदेश १ मा ३७५, प्रदेश २ मा २६६, बाग्मती प्रदेशमा ४२१, गण्डकी प्रदेशमा २२०, प्रदेश ५ मा ३२६, कर्णाली प्रदेशमा १७६ र सुदूरपश्चिममा २११ वटा परीक्षा केन्द्र तय गरिएको छ । सबैभन्दा धेरै परीक्षा केन्द्र बागमती प्रदेशमा तय गरिएको छ ।
विद्यार्थीलाई मानसिक रूपमै परीक्षाका लागि तयार बनाउन तथा भयरहित हिसाबले परीक्षा सञ्चालन गर्न सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गरिएको छ । प्रदेश तथा स्थानीय सरकारसितको समन्वयमा त्यो काम गरिने भएको छ । स्वास्थ्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त बैठकबाट सो निर्णय गरिएको हो । बिरामी अवस्थाका विद्यार्थीलाई परीक्षामा सहभागी गराउनुपर्ने अवस्था आएमा सबै परीक्षा केन्द्रमा अलग्गै कोठाको व्यवस्था गर्न केन्द्राध्यक्षहरूलाई निर्देशसमेत गरिएको छ ।

गण्डकी प्रदेशमा ४७ हजार ५८० परीक्षार्थी
भोलिदेखि हुने एसईई परीक्षाको लागि गण्डकी प्रदेशका ११ जिल्लाबाट ४७ हजार ५ सय ८० विद्यार्थीले परीक्षा दिँदै छन् । गण्डकी प्रदेशमा एसईई परीक्षाका लागि २ सय २० परीक्षा केन्द्र तोकिएको छ ।

गण्डकी प्रदेशको कास्की जिल्लाबाट २०७६ सालको एसईई परीक्षामा सम्मिलित परीक्षार्थी सबैभन्दा धेरै संख्या रहेको छ भने सबैभन्दा थोरै मनाङको रहेको छ । ३२ परीक्षा केन्द्र तोकिएको कास्की जिल्लाबाट एसईई परीक्षामा सम्मिलित परीक्षार्थीको संख्या १० हजार ८४४ रहेको छ भने एउटा मात्र परीक्षा केन्द्र रहेको मनाङबाट ५२ जना मात्र परीक्षामा सम्मिलित हुनेछ । यसै गरी अर्को एक मात्र परीक्षा केन्द्र रहेको मुस्ताङबाट १३६ जना परीक्षार्थी यसपटक सम्मिलित हुँदैछन् ।

यसैगरी गोरखाका २५ परीक्षा केन्द्रबाट ४ हजार ५३९ जना, १८ केन्द्र तोकिएको लमजुङबाट ३ हजार १०२, २४ केन्द्र रहेको तनहुँबाट ६ हजार २८०, ३५ परीक्षा केन्द्र तोकिएको स्याङ्जाबाट ५ हजार ८२३, ९ परीक्षा केन्द्र रहेको म्याग्दीबाट २ हजार ४१७, ३१ परीक्षा केन्द्र रहेको बागलुङबाट ५ हजार ६७, पर्वतका १९ केन्द्रबाट २ हजार ६७० र नवलपुर (सुस्तापूर्व)का २५ परीक्षा केन्द्रबाट ६ हजार ६५० जनाले २०७६ सालको एसईई परीक्षामा सम्मिलित हुने शिक्षा विकास निर्देशनालय, गण्डकी प्रदेशका निर्देशक तिलकप्रसाद सिलवालले बताए ।