कोरोनाभाइरस: ब्रिटेनमा पूर्व गोर्खाको मृत्युपछि परिवारै आइसोलेशनमा

-


     मर्दी न्युज    
     चैत्र ९ गते २०७६ मा प्रकाशित


काेराेना भाइरसकाे सङ्क्रमणका कारण ब्रिटेनमा बसोबास गरिरहेका एक भूतपूर्व गोर्खा सैनिकको मृत्यु भएको उनको परिवारले जनाएको छ।

सङ्खुवासभाका ६६ वर्षीय लीलाबहादुर राईको गत मङ्गलवार लन्डनस्थित नर्थवीक पार्क अस्पतालमा निधन भएको हो।

स्वर्गीय राईका छोरा विकास राईले बाथ रोगबाट पीडित आफ्ना बुवालाई झन्डै तीन साता अस्पतालमा राखेपछि गत साता अस्पतालले डिस्चार्ज गरेको बताए।

उनले भने, “त्यसको ३-४ दिन पछि उहाँको स्वास्थ्य बिग्रियो, सास फेर्न गाह्रो भयो। त्यसपछि हामीले उहाँलाई मङ्गलवार दिउँसो फेरि अस्पताल पुर्‍यायौँ, तर त्यहीँ बेलुका उहाँको निधन भयो।”

कसरी भयो सङ्क्रमण?

उनले अस्पतालले फोन गरेर आफ्ना बुवाको निधन कोरोनाभाइरसको सङ्क्रमणबाट भएको जानकारी दिएको पनि बताए । स्वर्गीय राईको झन्डै २५ वर्ष अघि भारतमा मृगौला प्रत्यारोपण गरिएको थियो । सन् २००८ देखि उनी बेलायतमा बसोबास गर्दै आएका थिए । अहिलेसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट नेपालीले ज्यान गुमाएको औपचारिक जानकारी सार्वजनिक भएको थिएन।

उनमा कोरोनाभाइरसको सङ्क्रमण कसरी भयो भन्ने आधिकारीक जानकारी दिइएको छैन।

तर छोरा विकास राईले आफ्नो बुवा अस्पतालमै सङ्क्रमित भएको हुनसक्ने आशङ्का गरेका छन्।
परिवारका सदस्य आइसोलेशनमा अहिले स्वर्गीय राईको परिवार आफ्नो घरभित्रै अलग्गै (आइसोलेशनमा) बस्दै आएको छ ।

विकास राईले भने, “हामीहरू घरभित्रै बसेर तातो पानी, सुप आदि खाइरहेका छौं, घर बाहिर कतै निस्केका छैनौं।” सबै प्रक्रिया पूरा भएपछि बुवाको अन्त्येष्टि ब्रिटेनमै गर्ने योजना रहेको पनि उनले सुनाए।

नेपाली समुदायमा कसैको घरमा परिवारका सदस्यको देहावसान भए घरमै गएर सहानुभूति तथा समवेदना व्यक्त गर्ने प्रचलन छ। तर सङ्खुवासभा समाज यूकेले आफ्ना सदस्यहरूलाई समवेदना व्यक्त गर्न स्वर्गीय राईको घरमा नजान भनेको छ। कोरोनाभाइरसको सङ्क्रमणका कारण त्यस्तो सावधानी अपनाउनु परेको समाजले जनाएको छ। बिबिसीबाट