
काठमाडौं, १० चैत । फ्रान्सबाट कतार हुँदै चैत ४ गते नेपाल आएका एकजना नेपाली नागरिकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित देखिएको छ । सोमबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति भेटिएको जानकारी दिएका हुन् ।
स्वास्थ्य मन्त्री ढकालले ती बिरामीको अहिले टेकु अस्पतालमा उपचार भइरहेको जानकारी दिए । १९ वर्षीया ती युवतीमा कोरोना भाइरसको संक्रमण आइतबार साँझ पुष्टि भएको हो ।
‘उनको परिवारलाई क्वारेन्टाइनमा राखेका छौं र उनी सँगै जहाजमा आएका अन्य मानिस कहाँ–कहाँ छन्? भनेर खोजी गर्दैछौं’, पत्रकार सम्मेलनमा मन्त्री ढकालले भने ।
यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै अन्तर्राष्ट्रिय नाका बन्द गराएको छ भने अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरेको छ । आजैबाट लामो दुरीका सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ ।