
पोखरा, १० चैत । गण्डकी प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि प्रदेश प्रवेश गर्ने नाका बन्द गर्ने भएको छ । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि प्रदेशमा छिर्ने सबै नाका बन्द गरी अत्यावश्यक सेवाका सवारीसाधन मात्र प्रवेश हुने भएका छन् ।
भाइरस संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्नका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा गठित उच्चस्तरीय निर्देशक समितिको सोमवार बसेको बैठकले मंगलवार बिहानदेखि गण्डकी प्रदेशका सबै नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो ।
गण्डकी प्रदेश छिर्ने मुख्य नाकामा पृथ्वी राजमार्गको आँबुखैरेनी, सिद्धार्थ राजमार्गको राम्दी, मुस्ताङको कोराला, नवलपुरको त्रिवेणी, दाउन्ने, गैंडाकोट, आरुघाटलगायत छन् ।
यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माकाअनुसार स्वास्थ्यसँग सम्वन्धित र अत्यावश्यक मालवाहक सवारी साधनबाहेक अरुलाई गण्डकी प्रदेशमा रोक लगाईने भएको छ । उनका अनुसार ती नाकाबाट अत्यावश्यक मालबाहक सामान, अस्पतालमा प्रयोग हुने सामग्री, दूध, पानी, लगायतका सवारीसाधन भने प्रवेश गर्न सक्ने भएपनि अन्य बन्द हुनेछन् ।

अस्पतालमा ओपीडी सेवा बन्द गरी इमर्जेन्सी सेवा मात्र सञ्चालन गर्ने र ‘हेल्लो डाक्टर’ कार्यक्रम प्रभावकारी बनाउँदै लैजाने समेत निर्णय भएको उनले बताए । प्रदेश स्वास्थ्य निर्देशनालयले हेल्लो डाक्टरको लागि हाल प्रयोग गरेको ०६१–५२४०७४ मा फोन गरेर थप जानकारी लिन सक्नेछन् ।
गण्डकी प्रदेशमा हाल ११० वटा आइसोलसन बेड तयार पारिएको छ । हालसम्म कोरोना भाइरसको आशंकामा पोखराबाट काठमाडौंमा पठाइएको १० रिपोर्टको नमूनामध्ये ८ वटाको नेभेटिभ आएको छ । २ वटाको नमूना परीक्षण हुन बाँकी रहेको डा. शर्माले बताए ।
गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले मुख्यमन्त्री विपत् व्यवस्थापन कोषमा कम्तीमा १० करोड रुपैयाँ राख्नेबारे छलफल भएको जानकारी दिए । प्रदेशको आवश्यकता हेरेर ‘लक डाउन’ गर्नुपर्ने अवस्था आए सोच्न सकिने तर अहिलेको अवस्थामा समस्या नरहेको बताए ।
पोखरा महानगरपालिका–५ मालेपाटनस्थित कृषिको तालिम केन्द्रको होस्टेललाई पहिलो लेवलमा क्वारेन्टाइन रुपमा विकास गर्ने निर्णय भएको छ । त्यहाँ ६० वटा बेड रहने छन् । आवश्यकता अनुसार पोखराको लामाचौरस्थित मातृ शिशु अस्पताललाई समेत क्वारेन्टाइनको रुपमा विकास गरिने भएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले नगरबासीलाई सुरक्षित रहन आग्रह गर्दै सकेसम्म घरमै बस्न भनेका छन् । मंगलवारदेखि नगर बस समेत सञ्चालन नहुने उनले बताए ।