‘लकडाउन’ पछि सुनसान पोखरा (फोटो फिचर)

-


     मर्दी न्युज    
     चैत्र ११ गते २०७६ मा प्रकाशित


पोखरा, ११ चैत । विश्वभर फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणलाई ध्यानमा राखी सरकारले ‘लकडाउन’ गरेसँगै पोखरामा यसको प्रभाव परेको छ । पोखरामा ‘लकडाउन’का कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने बजार पूर्ण रुपमा नै बन्द भएको छ ।

कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले कोभिड–१९ को संक्रमण थप नबढोस् भन्नाका लागि आज बिहान ६ बजेदेखि चैत १८ गते साँझ ६ बजेसम्म ‘लकडाउन’ गर्ने घोषणा गरेको थियो ।

सरकारले नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएपछि अरुलाई संक्रमित नहोस् भन्नाका लागि संक्रमण रोग ऐन २०२० को दफा २ को उपदफा (२) बमोजिम लकडाउन गर्ने निर्णय गरेको हो ।

‘लकडाउन’सँगै औषधि, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ । यस्तै अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधन आवतजावतमा पूर्ण रोक लगाइएको छ ।

सरकारले अत्यावश्यक कामबाहेक अन्य व्यक्ति घरबाट निस्कन निषेध गरेसँगै बाहिर हिँड्ने मानिसको संख्यामा नगण्य छ । लकडाउन उलङ्घन गरेमा ६ महिनासम्म कैद र रु ६०० सम्म जरिवाना वा दुवै हुने व्यवस्था छ । तस्विरः गंगा घले, खेम गुरुङ र पदम घले