पोखरा, १३ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरस संक्रमण नियन्त्रण गर्न नेपाल सरकारले गरेको ‘लकडाउन‘को आज तेस्रो दिन पनि पोखरालगायत देशभर सुनसान छ । पोखराको भित्री सडकमा भने फाट्टफुट्ट रुपमा यसको अवज्ञा भईरहेको छ ।
पोखराका मुख्य बजार क्षेत्रले भने सरकारको निर्देशनको पूर्णपालना गर्दै मानिसहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयासलाई साथ दिएका छन् । तर भित्री गल्लीहरुमा भने लकडाउनको अवज्ञा भएको देखिएको छ ।
सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म देशभर लकडाउन गर्दै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेको छ ।
पोखरामा विहीवार विहान केही औषधी पसल, तरकारी पसल, तथा किराना पसलहरु खुलेका छन् भने मानिसहरु किनमेल गरिरहेका छन् । बाहिर निस्केका मानिसहरु पनि मुखमा मास्क लगाएर निस्केको देखिन्छ । देशका विभिन्न स्थानमा मानिसहरुले लकडाउनको अवज्ञा गरेको भन्दै थप कडाई गर्न सामाजिक सञ्जालमार्फत सरकारलाई मानिसहरुले आग्रह गरिरहेका छन् । सरकारले पनि विस्तारै लकडाउनलाई कडाई गर्दै लगेको देखिन्छ ।
कोरोना भाईरस नियन्त्रण उच्चस्तरीय समितिका संयोजक तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले लकडाउनलाई मानिसहरुले हल्काफुल्का रुपमा लिएको भन्दै निषेधाज्ञा जारी गर्ने चेतावनी दिईसकेका छन् । मानिसहरुले अटेरी गरेका कारण कञ्चनपुर र पाल्पामा कफ्र्यु आदेश जारी गरिसकिएको छ ।