‘लकडाउन’का कारण रोकिएका पर्यटकहरुलाई उद्दार गरि पोखरा ल्याइयो

-


     मर्दी न्युज    
     चैत्र १४ गते २०७६ मा प्रकाशित


पोखरा, १४ चैत । सरकारले कोरोना भाइरस नियन्त्रण गर्न नेपाल लकडाउन गरेपछि राउण्ड अन्नपूर्ण पदमार्ग अन्तर्गत कास्कीका विभिन्न ठाउँमा रोकिएको पर्यटकको उद्धार गरिएको छ ।

विश्वप्रसिद्ध पर्यटक पदमार्ग अन्नपूर्ण क्षेत्र अन्तर्गतको स्याउलिबजार (घान्द्रुक), बिरेठाटी, नयाँपुल, काँडे लगायतका स्थानहरुमा घुम्न गएका विभिन्न मुलुकका पर्यटक तथा गाइड र भरियासमेत गरी ३३ जनालाई उद्दार गरि आज शुक्रवार पोखरा ल्याइएको छ ।

नेपाल पर्यटन बोर्ड, क्राइसिस रेस्पोन्स टिम, पर्यटन प्रहरी पोखरा, पोखरा पर्यटन परिषद, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशलगायतका संस्थाहरुको पहलमा उद्धारकार्य गरिएको हो ।
आज बिहान यात्री बस प्रा.लिको बस सो प्रयोजनका लागि पोखराबाट गएको चालक बिमल तामाङ (शेरे) ले बताए । ‘लकडाउन’ भएको असामान्य परिस्थितिमा आफुहरुको उद्दार भएकोमा पर्यटकहरु खुसी देखिन्थे । त्यस्तै गाइडहरु दुर्गा रावल (जुम्ला), राजु गुरुङ (लमजुङ), एल.बि राई (काठमाडौं) पनि गन्तव्यमा जान पाउँदा निकै खुशी भए ।

उद्धार गरिएका पर्यटकहरुलाई लेकसाइडका विभिन्न होटलमा राखिएको छ । काठमाडौं जान चाहने पर्यटकहरुले नेपाल पर्यटन बोर्ड तथा पर्यटन प्रहरी पोखरामा खबर गरेमा आवश्यक सहजीकरण गरिने नेपाल पर्यटन बोर्डले जनाएको छ ।


विहीबार ५९ जना आफ्ना नागरिकलाई काठमाडौंस्थित फ्रान्सेली दूतावासले जहाज चार्टर्ड गरेर उद्धार गरेको थियो ।
तस्बिरहरुः गङ्गा घले