मन्त्रिपरिषदको बैठक बस्दै, लकडाउन लम्बिने सम्भावना

-


     मर्दी न्युज    
     १६ चैत्र २०७६ मा प्रकाशित


काठमाण्डौ, १६ चैत । सरकारले लकडाउनको अवधि लम्ब्याउने भएको छ । आइतबार बसेको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिको बैठकले लकडाउनको अवधि थप गर्नुपर्ने निश्कर्ष निकालेको हो । तर कति दिन भन्ने टुंगो लगाएको छैन ।

अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषदको बैठकले टुंग्याउने भएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा दिउसो बस्ने कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय बैठकले लकडाउनको आज छैटौ दिनसम्मको समीक्षा, कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारका तर्फबाट भईरहेका प्रयास, खाद्यान्न, इन्धन, तरकारी लगायत दैनिक उपभोग्य सामग्रीहरु सर्वसाधारणमा पुर्याउने सम्बन्धमा गरिने व्यबस्थालगायतका विषयमा छलफल भएको बैठकमा सहभागी एक मन्त्रीले बताए ।

नेपालमा दोस्रो व्यक्तिमा कोरोनाको संक्रमण देखिएपछि चैत्र १० गते कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले चैत्र ११ गते विहान ६ बजेदेखि लागु हुनेगरी चैत्र १८ गते विहान ६ बजेसम्म लकडाउन गर्ने निर्णय अनुरुप हाल मुलुक लकडाउनको छैटौ दिनमा रहेको छ ।