पोखरा, १६ चैत । विश्वभर महामारीको रूपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड–१९) का कारण १ सय ९० भन्दा धेरै देशलाई ग्रस्त बनाउदै लगेको छ ।
कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले मङ्गलबारदेखि लकडाउन गर्दा रोजीरोटी गुमेका विपन्न परिवारलाई समस्या पारेको छ । उनीहरुमा दैनिक खाद्यन्नको समस्या देखिएको छ ।
दैनिक ज्यालादारी गर्ने मजदुरको लागि पोखरा महानगरपालिका वडा नम्बर १६ ले निःशुल्क खाद्यन्न वितरण गर्ने अभियान सञ्चालन गरेको छ । यही अभियानलाई सहयोग गर्दै सूर्योदय बोर्डिङ स्कुलका प्राचार्य रूपबहादुर गुरूङबाट नगद १ लाख रूपैयाँ र पोखरा एकेडेमीबाट ५० हजार रूपैयाँ सहयोग प्रदान गरेको वडा नम्बर १६ का वडा सदस्य राजेश गुरूङले बताए । वडाले पनि ५० हजार सहयोग गर्ने उनले बताए ।
मुलुकभरी भएको लकडाउनका कारण रोजीरोटी गुमेर बिहानबेलुका हातमुख जोर्न समस्या भएकालाई सहयोग गर्ने गुरुङले बताए । वडाले लकडाउनका कारण मजदूरी गर्न नपाएर हातमुख जोर्न समस्या भएकालाई राहत स्वरुप निःशुल्क खाद्यन्न वितरण गराउनका लागि वडास्तरबाट लागि परेको वडाध्यक्ष जीवनप्रसाद आचार्यले बताए ।