पोखरा, १७ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमित ७ लाख २१ हजार भन्दा बढी पुगेका छन् ।
सोमवार बिहानसम्म विश्वका ७ लाख २१ हजार ५८४ जना संक्रमित भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
त्यस्तै कोभिड–९ को संक्रमणबाट विश्वभर ३३ हजार ९५८ जनाले ज्यान गुमाएका छन् भने विश्वभर १ लाख ४९ हजार १२२ जना निको भएर घर फर्कि सकेको छ ।
त्यस्तै अमेरिकाभर सोमवार बिहानसम्म १ लाख ४२ हजार १०६ जनामा यस भाइरस संक्रमणको पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा १८ हजार ८३३ जना मानिसमा यसको संक्रमण फैलिएको हो । कोरोनाको उद्गमस्थल चीनको भन्दा अमेरिकामा तीब्र गतिमा भाइरस फैलिएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । चीनको वुहान सहरबाट शुरु भएको कोरोना भाइरस चीन र युरोपपछि कोभिड–१९ को इपिसेन्टर अमेरिका बनेको छ ।
अमेरिकाभर २ हजार ४ सय ७९ मानिसको यस भाइरस संक्रमणका कारण ज्यान गएको छ भने २ हजार ६८६ जना निको भइ घर फर्केका छन् ।
त्यस्तै कोरोना संक्रमणबाट सबैभन्दा धेरै इटलीका १० हजार ७७९ मानिसको ज्यान गएको छ । इटलीमा हालसम्म कुल संक्रमितको संख्या भने ९७ हजार ६८९ रहेको छ । १३ हजार ३० जना भने निको भएर घर फर्किसकेको छ ।