तस्विर : सामाजिक संजाल
पोखरा, १७ चैत । ग्यास सिलिण्डर बोकाएर सडकमा बसाएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।
उक्त तस्बिरमा ग्यास सिलिन्डर बोकेका पुरुषलाई एक जना महिला प्रहरीले सडकमै बस्न लगाएको देखिन्छ ।
सरकारले जारी गरेको लकडाउनको बेला ति व्यक्ति बाहिर निस्केकाले प्रहरी कारवाहीमा परेका थिए । प्रहरीले नागरिकमाथि नसुहाउने खालको व्यवहार गरेको भन्दै अहिले प्रहरीको तीव्र आलोचना भइरहेको छ ।
आलोचना बढ्दै गएपछि प्रहरी प्रधान कार्यालयले उक्त घटनाको छानबिन सुरू गरेको छ । अत्याधिक जनगुनासोका बीच प्रहरीले मुख खोलेको हो । नेपाल प्रहरीको अफिसियल फेसबुक पेजबाट जारी गरेको सन्देशमा यो तस्विरमा देखिएको आवश्यक सत्यतथ्य अनुसन्धान थालिएको जनाएको छ ।
फेसबुक सन्देशमा भनिएको छ– ‘सामाजिक सञ्जालमा प्रहरी कर्मचारीले सर्वसाधारणलाई ग्यासको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिरको सम्बन्धमा सबैबाट प्राप्त भएको सुझाव, गुनासोलाई प्रहरी प्रधान कार्यालयले गम्भिरताका साथ लिएको र आवश्यक छानबिन भइरहेको जानकारी गराउँदछौं ।’