पोखरा महानगरले बनायो २ करोड ४८ लाखको राहत कोष, सहयोग गर्न आग्रह

-


     मर्दी न्युज    
     १७ चैत्र २०७६ मा प्रकाशित


पोखरा, १७ चैत । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न सरकारले एक साताको लागि गरेको लकडाउनको समयावधि थप गरेर चैत २५ सम्मलाई पुर्याएको छ ।

देशव्यापी लकडाउन भएको अवस्थामा अति विपन्न र ज्याला मजदुरी गर्नेहरुलाई राहत वितरण गर्न पोखरा महानगरपालिकाले राहत कोष स्थापना गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।

पोखरा महानगरपालिकाले अति विपन्न र दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्नेहरुलाई सहयोग गर्न २ करोड ४८ लाख ५० को राहत कोष स्थापना गरेको जनाएको छ । महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै नगर क्षेत्रमा रहेका अति विपन्न र ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरुलाई राहत उपलब्ध गराउन पोखरा महानगरपालिकाले २ करोड तथा कर्मचारीबाट संकलन भएको ४८ लाख ५० हजार रुपैंयाँ समेत गरी २ करोड ४८ लाख ५० हजारको राहत कोष स्थापना गरेको उल्लेख गरिएको छ ।

महानगरका ३३ वटै वडा कार्यालय मार्फत् टोल विकास संस्था, टोल सुधार समिति, असहाय, अति विपिन्न, दैनिक ज्यालादारीको रुपमा काम गर्ने मजदुरहरुको नामावली संकलन गर्न लागिएकोले विवरण संकलनमा सहयोग र सहजीकरण गरिदिन समेत अनुरोध गरिएको छ ।

एकद्वार प्रणाली मार्फत् प्रभावकारी ढंगले राहत वितरण गरिने भएकाले इच्छुक सबैमा पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गरी सहयोग पु¥याइदिन हुन प्रमुख जिसीले विज्ञप्ति मार्फत अनुरोध गरेका छन् । यस कोषबाट अति विपन्न परिवार र दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने परिवारलाईप्रति परिवार २ हजार रुपैंयाँ बराबरको खाद्यान्न सामग्री उपलब्धि गराइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘कठिन परिस्थितिमा संयम र सचेत भई घर भित्र बसेर आफू पनि बाँच्न र अरुलाई पनि बचाउन नगरवासीलाई आग्रह गर्दै अहिलेसम्म यहाँहरुले गर्नुभएको सहयोगप्रति पोखरा महानगरकापालिका धन्यवाद ज्ञापन गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ, ‘महामारीसँग जुध्ने कार्य कष्टपूर्ण नै छ, सरकारको एकल प्रयासले मात्र यो संकटबाट पार पाउन कठिन छ । विपद्को यस घडीमा आम जनता, विभिन्न संघसंस्था, बैक, वित्तीय संस्था, सहकारी, उद्यमी, व्यापारी लगायत सबैमा सहयोगको आह्वान गर्दछौं ।’