
पोखरा, १८ चैत । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट स्पेनमा एकै दिन ९ सय १३ ले ज्यान गुमाएको छ भने ७ हजार ८४६ नयाँ संक्रमण बढेको छ । यससँगै स्पेनमा ७ हजार ७१६ जनाले संक्रमणका कारण ज्यान गुमाएको छ ।
कोरोना भाइरसबाट हालसम्म इटलीले सबैभन्दा धेरै ११ हजार ५९१ नागरिक गुमाएका छन् । पछिल्लो २४ घण्टामा इटलीमा ८१२ जनाको संक्रमणबाट मृत्यु भएको छ ।
सोमवार बिहानसम्म विश्वभर कोरोना भाइरसबाट ३७ हजार ६ सय ३८ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
त्यस्तै कोरोनाको संक्रमणबाट अमेरिकामा एकैदिन ५६५ ले ज्यान गुमाएको छ । यससँगै अमेरिकामा संक्रमणबाट हालसम्म ज्यान गुमाउनेको संख्या ३ हजार ८ पुगेको छ । अमेरिकाभर मंगलवार बिहानसम्म १ लाख ६३ हजार ४९० जना संक्रमितको पुष्टी भएको छ ।
कोरोनाको उद्गमस्थल चीनमा भने पछिल्लो २४ घण्टामा ७९ जना नयाँ संक्रमित भेटिएको र ५ जनाको ज्यान गएको जनाएको छ । चीनको वुहान सहरबाट शुरु भएको भाइरस चीन र युरोपपछि कोभिड–१९ को इपिसेन्टर अमेरिका बनेको छ ।
त्यस्तै यता छिमेकी मुलुक भारतमा भने पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ भने २२७ जना नयाँ संक्रमित थपिएको जनाइएको छ । भारतमा हालसम्म ३२ जनाको मृत्यु भइसकेको छ भने १ हजार २५१ जना संक्रमित छन् ।
कोरोना भाइरसको संक्रमित विश्वभर गरी ७ लाख ८४ हजार ३१४ पुगेको छ ।