पोखरा, १९ चैत । आज चैत शुक्ल अष्टमी, अर्थात चैते दशैं । दशैंको अवसरमा आज देवीको पूजा उपासना गर्दै चैते दशैं मनाउने गरिन्छ । तर यसवर्ष भने विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीले शक्तिपीठहरु सुनसान छ ।
कोभिड–१९ को संक्रमण्ण फैलन नदिन सरकारले चैत ११ देखि १८ गते सम्म देशभर लकडाउन लागू गरेकोमो यसलाई लम्ब्याई २५ गतेसम्म देशभर लकडाउन लागू गरेको छ । सरकारले लागू गरेको देशव्यापी लकडाउनका कारण मानिसहरु घरभित्र बस्न बाध्य छन् ।
विगतमा पोखराको विन्ध्यवासिनी मन्दिर, भद्रकाली, फेवातालमा अवस्थित तालवराही मन्दिरमा बिहानैदेखि भक्तजनहरुको भीड हुने गथ्र्यो । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरुले वर्षमा दुइपटक मनाउने गर्दछन् । असोजमा मनाईंने दशैंलाई बडादशैको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैंको रुपमा मनाउने गरिन्थ्यो ।
पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो हुने आजको दिनमा भने सुनसान छ । दर्शनार्थीहरुको भीडभाड हुने पोखराको विन्ध्यवासिनी, भद्रकाली मन्दिर तथा परिसरको लकडाउनमा देखिएको तस्विरहरु ।
तस्विरः खेम गुरुङ/मर्दीन्यूज