द्रुत परीक्षण किटबारे आएको समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण

-


     मर्दी न्युज    
     चैत्र १९ गते २०७६ मा प्रकाशित


पोखरा, १९ चैत । सरकारले खरिद गरेको कोरोना भाइरस (कोभिड–१९) द्रुत परीक्षण किट (र्यापिड डाइग्नोस्टिक किट) बारे विभिन्न सञ्चारमाध्यममा आएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार विज्ञ सल्लाहकार डा. खेमबहादुर कार्कीको हस्ताक्षरमा विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयले र्यापिड डाइग्नोस्टिक किटको विषयमा ध्यानाकर्षण भएको बताएको हो ।

‘मंगलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनको क्रमममा र्यापिड टेष्ट किटबारे सार्वजनिक गरेको धारणालाई मन्त्रालयले खरिद गरेको र्यापिड टेष्ट किटसँग जोडी विभिन्न सञ्चारमाध्ययममा भ्रमपूर्ण समाचार आएपछि हामीले यसबारे थप प्रष्ट पार्नुपर्ने आवश्यकता देखि यो विज्ञप्ति जारी गरिएको हो’, मन्त्रालयले भनेको छ ।

जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले चीनबाट खरिद गरी ल्याएको र्यापिड टेस्ट किट चीन सरकारले प्रमाणित गरेको किट हो । नेपालमा महामारी फैलिहाले र एकैपटक हजारौं टेष्ट गर्नुपरेको अवस्थामा पिसिआर मेसिनले धान्न नसक्ने भएकोले र्यापिड टेष्ट किट प्रयोग गरी स्क्रीनिङ गर्ने र शंकास्पदहरुको पिसिआर प्रविधिबाटै जाँच गरी निक्र्यौल गर्ने अन्तर्राष्ट्रिय मान्यताअनुसार पूर्व तयारी गर्न खोजिएको हो ।’

विज्ञप्तिमा ‘बजारमा अवैध ढंगले र्यापिड किट भित्र्याई जनमानसमा भ्रममा पारी परीक्षण गर्न सुरु भइसकेको गुनासो आएपछि सरकारले यसलाई नियन्त्रण गर्न अनुमति नदिई र्यापिड किटको प्रयोग नगर्न निर्देशन दिएको उल्लेख छ ।’

सरकारले खरिद गरेको किटको गुणस्तर जाँच्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई अनुरोध गरिसकिएको र परिषद्ले प्रयोग गर्न योग्य भनी सिफारिस गरेपछि र सम्बन्धित निकायबाट प्रमाणित भएपछि मात्रै प्रयोगको लागि वितरण हुने विज्ञप्तिमार्फत जनाइएको छ ।