कोरोना प्रकोपः स्पेनमा १ लाख नाघ्यो, भारतमा अहिलेसम्म ५४ को मृत्यु

-


     मर्दी न्युज    
     चैत्र १९ गते २०७६ मा प्रकाशित


पोखरा, १९ चैत । स्पेनमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने मानिसको संख्या १ लाख नाघेको छ । जोन्स् हप्किन्स विश्वविद्यालयका अनुसार बुधवार ४ बजेसम्मको तथ्यांकमा स्पेनमा ६ हजार २१३ नयाँ संक्रमित भेटिएका हुन् ।

यससँगै स्पेनमा समग्र संक्रमितको संख्या १ लाख २ हजार १३६ पुगेको हो । स्पेनमा कोरोना भाइरसबाट बुधवार मात्र ५८९ जनाले ज्यान गुमाएका छन् । यससँगै मृतकको कुल संख्या ९ हजार ५३ पुगेको छ ।

कोरोना भाइरसको अर्को दोस्रो इपिसेन्टर बनेको इटलीमा १ लाख ५ हजार ७९२ मानिस संक्रमित छन् । इटलीमा यस समाचार तयार गर्दासम्म १२ हजार ४२८ जनाले ज्यान गुमाएका छन् ।

कोरोना भाइरसको इपिसेन्टर बनेको अमेरिकामा मृतकको कुल संख्या ४ हजार ८३ पुगेको छ । १०९ जना नयाँ संक्रमित थपिएसँगै अमेरिकामा समग्र संक्रमितको संख्या १ लाख ८९ हजार ६३३ पुगेको छ ।

त्यस्तै यता छिमेकी मुलुकमा आज एक दिनमा १० जनाको ज्यान गएको छ । यससँगै भारतमा कोरोना भाइरसबाट मृतकको कुल संख्या ५४ जना पुगेको छ । भारतमा कोरोना भाइरसको संक्रमित संख्या १ हजार ७२५ पुगेको आजतकले जनाएको छ ।