पोखरा, २० चैत । कोरोना उपचार कोषमा पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना रोकथामको लागि ३ लाख ३६ हजार २११ रुपैयाँ योगदान गर्ने भएको छ ।
सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ६३ औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।
पोखरा रोयल बचत तथा ऋण सहकारीले बिहीवार एक विज्ञप्ति प्रकाशित गरी विषम परिस्थितिमा सहकारीको सामाजिक उत्तरदायित्व वहन गर्दै सरकारले आव्हान गरेको कोरोना रोकथाम तथा उपचार कोषमा ६३ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा राहत स्वरुप प्रदान गरेको उल्लेख छ ।
सहकारीले कोषबाट १ लाख १ रुपैयाँ, संस्थाको सञ्चालक समिति, लेखा समिति, सल्लाहकार, उपसमितका पदाधिकारी एवम् सदस्यहरुबाट १ लाख ३२ हजार २ सय १० र संस्थाको कर्मचारीहरुबाट १ लाख ४ हजार गरी ३ लाख ३६ हजार २ सय ११ रुपैयाँ कोरोना कोषमा उपलब्ध गराएको हो ।
सहकारीका सूचना अधिकारी मीलन ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा गण्डकी प्रदेश सरकारको खातामा ३ लाख ३ हजार र पोखरा महानगरपालिकाको खातामा ३३ हजार २११ गरी ३ लाख ३६ हजार जम्मा गर्ने निर्णय भएको जनाएको छ ।
उक्त रकमले कोरोना संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारमा मद्दत पुग्ने सहकारीले जनाएको छ ।