
पोखरा, २० चैत । कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम उपचार कोषमा आज एक अर्ब बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बिहीबारसम्म १ अर्ब ९ करोड २५ लाख २२ हजार ५८६ रुपैयाँ कोषमा जम्मा भएको जानकारी दिएको हो ।
अर्थ मन्त्रालयअन्तर्गतका नेपाल धितोपत्र बोर्डबाट तीन करोड, निक्षेप तथा कर्जा सुरक्षण कोषको तीन करोड, नेपाल स्टक एक्चेन्जबाट तीन करोड ५१ लाख, नागरिक लगानी कोष दुई करोड, क्लियरिङ र डिपोजिट कम्पनी एक करोड ३५ लाख, बिमा समिति पाँच करोड, राष्ट्रिय बिमा संस्थान एक करोड, कर्मचारी सञ्चय कोष पाँच करोड, राष्ट्रिय बाणिज्य बैंक एक करोड ८५ लाख, नेपाल बैंकर्स संघका तर्फबाट २० करोड रुपैयाँ रहेको छ ।
कोषका लागि सहयोग गर्नेहरुमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालय अन्तर्गतको नेपाल आयल निगम ५० करोड र नेपाल फ्रेइट फवार्डस एसोसिएसन सात लाख छ हजार १०१ रहेको छ । त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत नेपाल दूर सञ्चार प्राविधकरणबाट १५ करोड र नेपाल दूर सञ्चार कम्पनि लिमिटेड १२ करोड रहेको छ ।
