घण्टीमा मत दिएका नागरिकले प्रश्न उठाउने अवस्था आए रास्वपालाई गाह्रो हुन्छ : लामिछाने

-


     मर्दी न्युज    
     भाद्र ७ गते २०८३ मा प्रकाशित


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले घण्टी चिह्नमा मत दिएका नागरिकले नै सरकार र पार्टीप्रति प्रश्न उठाउने अवस्था आए रास्वपालाई अप्ठ्यारो पर्ने बताएका  छन् ।

रास्वपाले केन्द्रीय सदस्यहरूका लागि शनिबार र आइतबार काठमाडौंमा आयोजना गरेको ‘नीति, संगठन र नेतृत्व’ कार्यक्रमको पहिलो शृंखलाको समापन सम्बोधन गर्दै लामिछानेले सरकारका विषयमा ठूलो समस्या नरहेको दाबी गर्दै उनले विपक्षी दलले सरकारको आलोचना गर्नु स्वाभाविक भए पनि घण्टी चिह्नमा मत दिएका नागरिकले नै सरकार र पार्टीप्रति प्रश्न उठाउने अवस्था आए रास्वपालाई अप्ठ्यारो पर्ने बताएको हो ।

सरकारले गरेका राम्रा कामलाई छायामा पार्ने प्रयास विपक्षी दलबाट भइरहेको आरोप लगाउँदै लामिछानेले सरकारका उपलब्धिलाई ओझेलमा पार्ने गतिविधि हुन सक्ने भन्दै पार्टी पंक्तिलाई त्यसप्रति सचेत हुनुपर्ने धारणा राखे ।

‘अहिले सरकारबारे धेरै समस्या छैन। विपक्षीहरू बोलिरहेका छन्। जुन उनीहरूको धर्म पनि हो,’ लामिछानेले भने । तर, घण्टीमा मत दिएका नागरिकले नै सरकार र पार्टीप्रति प्रश्न उठाउन थाले त्यसले रास्वपालाई अप्ठ्यारो पर्न सक्छ ।  घण्टीमा भोट हालेका मतदाताहरू बोल्ने दिन आयो भने हामीलाई गाह्रो हुन्छ। उनीहरूलाई बोल्ने दिन आउने अवस्था बनाउन नदिऊँ,’ लामिछानेले भने ।

विभिन्न दलका नेताहरू नेपथ्यमा बसेर आफ्नो स्वार्थ पूरा गर्न खोजिरहेको दाबी गर्दै उनले त्यसप्रति सचेत रहन नेता–कार्यकर्तालाई आग्रह गरे। रास्वपाले आमनागरिकले आफूहरूलाई किन मत दिएका थिए भन्ने विषयलाई निरन्तर सम्झिनुपर्ने उनको भनाइ थियो । हाम्रो काम भनेको आमनागरिकले हामीलाई के भनेर भोट दिएका थिए, त्यसलाई मनन् गर्नुपर्छ, लमिछानेको भनाइ थियो ।

सभापति लामिछानेले सरकारका मन्त्रीहरूलाई पार्टी कार्यालयमै बोलाएर जनता र पार्टी सदस्यका कुरा सुन्ने व्यवस्था गरिएको र  सरकारका विषयमा ठूलो समस्या नरहेको जानकारी दिनुहुँदै सरकार सुशासनको जग बसाल्न तल्लिन रहेको बताए ।

लोकतन्त्रबारे बाेल्दै उनले आज विभिन्न संस्थाहरू डराएको उल्लेख गर्दै संस्थाहरू भत्किँदै गए लोकतन्त्र समेत संकटमा पर्ने बताए । उनले भने, ‘जानेर वा नजानेर हामीले गरेका क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस् । यो हाम्रो पहिलो जिम्मेवारी हो । आज विभिन्न संस्थाहरू डराएका छन् । संस्थाहरू भत्किए भने लोकतन्त्र भत्किन्छ । एकै पटक गर्ल्यामगुर्लम जाने घर होइन लोकतन्त्र । हिजोका शहीदहरूले बलिदानी दिएका छन् । राजनीतिक दलहरूले जेलनेल भोगेर बलियो बनाएका छन् । बेल्कुल बलियो छ लोकतन्त्र । यो कमजोर छैन । कमजोर हुँदो हो त धेरै अगाडि ढलिसक्थ्यो । उनीहरूले भन्न सक्छन् हामीलाई, हामीले कति बलियो बनाएर तिमीहरूलाई दिएका थियौँ । सुशासनको कुरामा पो हामी चुकेका थियौँ, राजनीतिक कुरामा त हामी बलियो थियौँ, किन कमजोर बनायौ लोकतन्त्र ? भनेर सोधे भने हामीसँग जवाफ हुने छैन । हामी त्यो मोडमा जाने वाला छैनौँ । हामी हाम्रो इतिहास त्यसरी लेख्ने पुस्ता होइनौँ । त्यसकारण हामीले अत्यन्त जिम्मेवार भएर काम गर्नुपर्नेछ ।’