
पोखरा, २२ चैत । कोरोना भारइसको संक्रमण नफैलिओस् भनेर नेपाल सरकारले चैत ११ गतेदेखि देशभरि लक डाउन गरेको छ । सुरूमा एक हप्ताका लागि भनिएको लक डाउन थपेर दुई हप्ता पुर्याइएको छ ।
कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले लगाएको लकडाउन दोस्रो सातामा चलिरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्को एक साता पनि बढाउनुपर्ने निष्कर्ष निकालेको छ । सरुवा रोग विशेषज्ञ चिकित्सक र विज्ञसहित शुक्रबार बसेको बैठकले लडकडाउन अझै एक साता बढाउन सरकारलाई सुझाव दिने निष्कर्ष निकालेको बैठकमा सहभागीले जानकारी दिए ।
भारत र अन्य देशबाट नेपाली घर आएकाले संक्रमणको जोखिम बढेकाले लकडाउन अवधि पनि बढाउनुपर्ने अवस्था देखिएको विज्ञहरुको सुझाव छ ।
एउटा नयाँ अध्ययनलाई आधार मान्ने हो भने घरभित्रै बस्नु पर्ने दिन अझै केही साता लम्बिन सक्छ किनकी कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा राख्ने हो भने कम्तिमा पनि छ हप्ता लकडाउन गर्नुपर्ने उक्त अध्ययनले देखाएको छ ।
अमेरिकाको एसएसआरएन जर्नलमा यसै साता प्रकाशित अध्ययनबारे शुक्रबार साउथ चाइना मर्निङ पोष्टले समाचार प्रकाशन गरेको छ । उक्त अध्ययनको रिपोर्टले भन्छ–महामारी रोक्न एकदमै कडाखालका कदमहरू चालेका देशले तीन हप्तापछि महामारीलाई मध्यमस्तरको बनाउन सक्छन् । एक महिनामा संक्रमणको फैलावट रोक्न सक्छन् भने ४५ दिनपछि महामारीलाई आफ्नो नियन्त्रणमा राख्न सक्छन् ।
‘भ्याक्सिन, उपचार, बृहत परीक्षण र क्वारेन्टाइनमा राख्ने कुरा नहुँदा लकडाउन र घरमै बस्नु पर्ने समय केही महिनासम्म आवश्य हुन्छ,’ अध्ययनमा भनिएको छ । अध्ययन संसारका ३६ वटा मुलुक र ५० वटा अमेरिकी राज्यका तथ्यांकहरूमा आधारित छ ।
अनुसन्धानकर्ताहरूले इटाली र क्यालिफोर्नियाले लागू गरेको कडा खालको लक डाउन, सिंगापुर र दक्षिण कोरियाले गरेका व्यापक परीक्षण र चीनले यी दुबैको मिश्रण गरेर अपनाएको नीतिलाई आफ्नो अध्ययनले सहयोग गरेको उल्लेख गरेका छन् । अमेरिकाले समयमै यी नीतिहरू नअपनाएकाले कोरोनाको महामारी तीव्र रूपमा फैलिएको पनि अध्ययनको निष्कर्ष छ । पछिल्लो समय अमेरिका कोरोना भाइरसको इपिसेन्टर बनेको छ । त्यहाँ शनिवार बिहानसम्म २ लाख ७८ हजारभन्दा बढी संक्रमित भएको छ भने ७ हजार भन्दा बढी मानिसले ज्यान गुमाएका छन् ।