धनगढीका संक्रमित युवासँगै आउने १० जनाको पहिचान

-


     मर्दी न्युज    
     चैत्र २३ गते २०७६ मा प्रकाशित


काठमाडौं । धनगढीका कोरोना संक्रमित २१ वर्षीय युवासँगै आउने दाङका १० जना युवा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार संक्रमित युवासँगै आउने ६ जना घोराही र ४ जना लमहीका रहेका छन् । घोराही–४ का २२ वर्षीय दुई जना, १७ वर्षका एक जना, २६ वर्षका एक जना, २९ वर्षका एक जना र साविक सोनपुर–२ का १९ वर्षका एक जना युवा भारतको मुम्बईबाट चैत १२ गते नेपाल भित्रिएका हुन् ।

यसैगरी भारतको चेन्नईबाट आएका लमही–५ का २० वर्षीय पुरुष, भारतको केरलाबाट फर्किएका सोही ठाउँकै २५ वर्षीय पुरुष पनि संक्रमित युवासँगैको भिड गौरीफन्टामा रहेको पाइएको छ । त्यस्तै राजपुर गाँउपालिका–८ का १९ र २६ वर्षका दुई जना युवा पनि गौरीफन्टा नाकामा चैत ११ गतेको भिडमा रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले संक्रमित युवासँगै आउने १० जनाको पहिचान भइसकेको र अहिले स्थानीय तहसँग सहकार्य गरेर उनीहरुको खोजी गर्न प्रहरी परीचालन भइसकेको जानकारी दिए ।